धरान : गरिमा डान्स सेन्टर धरानले ‘तीज उत्सव–२०७५ नृत्य प्रतियोगिता’ कार्यक्रम शुक्रबार सम्पन्न गरेको छ ।
धरान १ स्थित उद्योग बाणिज्य संघको हल सम्पन्न प्रतियोगितामा धरानका ५० भन्दा बढी महिलाहरु सहभागी थिए । प्रतियोगितामा नैनकला खड्गी प्रथम हुदै ताजसँगै पुरस्कार स्वरुप ६ महिना निःशुल्क नृत्य सिक्ने अवसर पाइन् । यस्तै, मुनाल मेकअप स्टुडियोबाट १० हजार रुपैयाँ बराबरको मेकअप सिक्ने अवसर पनि उनले पाइन् ।
यसैगरी,रुपा लिम्बु दोस्रो भइन् भने लक्ष्मी तामाङ तेस्रो बनिन् । उनीहरुले पनि ताजसँगै पुरस्कार स्वरुप गरिमाबाट क्रमशः ५ र ४ महिना निःशुल्क नृत्य सिक्ने अवसर पाए । यस्तै, मुनाल मेकअपबाट मेकअप सिक्ने अवसर पनि दुवैले प्राप्त गरेका छन् । तीनै जना विजेताहरुले नटराज ट्रफी र प्रमाणपत्र पनि पाएका थिए । कार्यक्रममा सेमिका मोक्तान चौथो र माया राई पाँचौ बनेकी थिइन् । उनीहरुले भने गरिमा र मुनालबाट ५० प्रतिशत छुटमा नृत्य तथा मेकअप सिक्ने अवसर प्राप्त गरेका छन् ।
कार्यक्रममा बेष्ट पङचुअलको पुरस्कार राधा बुढाथोकी, बेष्ट टिका कोपिला भट्टराई, बेष्ट पर्सनालिटी जुली लिम्बू, बेष्ट सिम्पल जाइका बान्वता, बेष्ट स्किन शर्मिला मगर (कन्दङवा), बेष्ट अर्नामेन्ट सीता बिकले पाए भने बेष्ट फिगर सृजा राई, बेष्ट स्माइल मुना राई, बेष्ट मेकअप सबिना राना मगर, बेष्ट चुरा र बेष्ट ड्रेसमा क्रमसः सपना श्रेष्ठ र मधु स्थापितले पाइन् । विजेताहरुलाई प्रदेश १ की सांसद् उमिता बराइली (रिमा), गरिमाका प्रबन्धक मणिकुमार लिम्बूलगायतले पुरस्कार प्रदान गरेका थिए । कार्यक्रमको निर्णायकमा बरिष्ठ नृत्य निर्देशक सरस्वती योगी, ममता राई, व्युटिसियन नन्दा मेन्याङबो रहेका थिए । कार्यक्रममा सांसद् बराइली, महिला सञ्जाल धरानकी अध्यक्ष सबिता राई, महिला शक्ति समाज नेपालकी अध्यक्ष अञ्जना राई, नेपाल परिवार नियोजन संघकी सुनसरी उपाध्यक्ष मिना पुलामीलगायतले मन्तव्य व्यक्त गरेको कार्यक्रम संयोजक मनिता राईले जानकारी दिइन् ।

मुलुकी ऐनबारे जानकारी
तीज उत्सव कार्यक्रमकै अवसरमा संविधानले प्रदान गरेको महिलाको अधिकारबारे पनि जानकारी गराइएको छ । सञ्चारकर्मी शेखर ढकालले महिलाहरुलाई ऐन तथा संविधानले प्रदान गरेको अधिकारहरुबारे जानकारी दिएका हुन् । उनले महिलालाई आफ्नो नामबाट पनि नागरिकता दिन मिल्ने अधिकारदेखि किशोरीले पनि बच्चा पाउनेसम्मको अधिकार दिएको बताए । यसरी अधिकार प्राप्त गर्दा आफ्नो कर्तव्य पनि महिलाहरुले भुल्न नहुने बताए ।
जातीय पहिरनमा फेशन
गरिमाले विभिन्न जातीय पहिरनमा मोडलहरुलाई र्याम्पमा उतारेको छ । राई, लिम्बू, मगर, शेर्पा, गुरुङलगायत जातिको मौलिक पहिरनमा मोडलहरु उत्रिएका थिए । मोडल कुन्नी हाङस्रोङको कोरियोग्राफीमा युवतीहरु र्याम्पमा उत्रेका थिए ।