धरान : प्रकृतिपूजक लिम्बू समुदायको महान चाड चासोक–तङ्नाममा हरेक वर्षझैं यस वर्ष पनि “चासोक तङ्नाम २०७५” चार दिनसम्म भव्यरुपमा मनाइने भएको छ ।

धरान १५ स्थित किरात याक्थुङ चुम्लुङ हिममा किरात याक्थुङ चुम्लुङ धरान नगर समिति, किरात याक्थुङ चुम्लुङ जिल्ला शाखा सुनसरीले पुष ७ देखी १० गतेसम्म भब्यरुपमा चासोक तङनाम मनाउने भएको हो । लिम्बू समुदायले यस पर्वलाई उधौली (न्वागी) पुजा पनि भन्ने गर्छ । उभौली याममा खेती लगाइएको अन्नबालीको बिउबिजन सप्रियोस् भनि प्रकृति देवीलाई आशिर्वाद माग्न यक्वा पुजा गरिन्छ भने लगाएको बाली प्रकृति देवीको कृपाले फलेर पाकेको हुनाले आफुले खानु भन्दा पहिले देविलाई चढाएर मात्र खाने चलन लिम्बुहरुमा रहेको हुनाले उधौली याममा चासोक पुजा वा न्वगी पुजा गर्ने चलन रहि आएको छ ।

तङनामको अवसरमा लिम्बु समुदायको मोलिक खाना परिकारहरू चाम्रे, याङबेन, झ्याउ, फिलिङ्गे अचार, तोङवा, सेरगाङमा लगायत परिकार बनाएर पाहुनालाई भव्य सत्कार गरिने भएको छ । पुस ७ गतेबाट शुरू हुने कार्यक्रममा पहिलो दिन किरातीहरूको एतिहासिक क्षेत्र विजयपुर दरवार परिक्रमा गरि सरसफाई पुजा कार्यक्रम, त्येअङसी सिरिजङगाको शालिकमा माल्र्यापण, चासोक पुजा, बच्चाहरूलाई टिका लगाउने कार्यक्रम रहेको छ भने धरानका थुमगत, थरगत संस्थाका यालाङ, केलाङ, प्रदर्शनी, एकराते तङसिङ तथा वेलुकी साँगितिक तथा साँस्कृतिक कार्यक्रम रहने भएको छ ।

दोस्रो दिन ८ गते हाक्पारे, ख्याली, पालाम, यालाङ, साम्लो, छेलो हान्ने, पङलुङ लेप्मा र वेलुका साँगितिक तथा साँस्कृतिक कार्यक्रम रहने कार्यक्रम तालिका रहेको छ । पुस ९ गते केलाङ(च्याब्रुङ नाच) र साँस्कृतिक कार्यक्रम हुनेछ भने अन्तिम दिन आदिवासी (लिम्बु, राई, याख्खा, सुनुवार, तामाङ, मगर, नेवार, गुरूङ, शेर्पा, भुजेल, उराउ, माझी र सिङसा) जातिका साँस्कृतिक प्रदर्शनी रहने छ । यस्तै, पुरस्कार वितरण, मायाको चिनो वितरण हुँदै भव्य साँस्कृतिक कार्यक्रम हुँदै समापन गरिने किरात याक्थुङ चुम्लुङ धरान नगर समितिका सचिव सन्तोष कुरूम्बाङले जानकारी गराएका छन । यस चासोक तङनामको अवसरमा रिसराग, ईर्स्या, दुख, कस्ट, पिडा बिर्सेर आत्मीयताका साथ लिम्बू समुदायका दाजुभाइ तथा दिदीबहिनी विच भेटघाट र शुभकामना आदान–प्रदान गर्ने प्रचलन आएको छ ।

चासोक तङ्नामलाई भब्य बनाउनको लागि बिभिन्न बिभागहरू गठन गरिएको छ । साँस्कृतिक विभाग, प्रचार प्रसार, आर्थिक, ब्यबस्थापन, स्वयम्सेवक परिचालन लगायतका बिभागहरू गठन पनि गरिएको धरान चगर अध्यक्ष सुवास हुक्पा चोङवाङले बताए । संस्कार, संस्कृति, भेषभूषा र पहिचानको धनी मानिएको लिम्बु समुदायमा यो वर्षको चासोक चाडलाई विशेष र भव्य बनाउनका लागी सबै याक्थुङहरूले घरघरमा झिलिमिलि, रङगीचङगी बनाउन चुम्लुङ सुनसरी जिल्ला अध्यक्ष मोहन हुक्पाचोङवाङले अपिल समेत गरेका छन ।