इटहरी:तरहरा जेसीजले जेठ दोस्रो साताबाट आयोजना गरेको ट्यालेन्ट हन्ट शनिबार तरहरामा एक भव्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरेको छ ।

विभिन्न विधाका चारजना उत्कृष्टलाई समापनको अवसरमा तरहरा जेसीजले सम्मान गर्यो । नृत्यतर्फ युनिभर्सल बोर्डिङ स्कुलकी निकिसा कठेत, गायनमा इटहरी मोडलका अमिरन गौतम, पब्लिङ स्पिकिङमा विश्व आदर्शकी आरुष्का कट्टेल र स्पेशल ट्यालेन्टमा पाथिभरा बोर्डिङका बिक्रम राई उत्कृष्ट भए । उनीहरुले नगद पच्चीस हजारसहित सम्मान पत्र पाए ।

तरहरा जेसीज बर्ष २०१९ का अध्यक्ष विकास गिरीले तरहरा जेसीजले आगामी दिनमा पनि यो कार्यक्रमलाई निरन्तरता दिने बताए । उनले भने, विद्यार्थीमा भएको प्रतिभा प्रष्फुटन गर्ने ठाउँ नहुँदा प्रतिभा मरेर जान नदिनका लागि हामीले उक्त प्रतियोगिता आयोजना गरेका हौँ । उनका अनुसार इटहरीका विभिन्न स्कुलका ४ सय ५० भन्दा बढी सहभागी भएका थिए । उनीहरुमध्ये विभिन्न चरण गरि ३० जना छनौट गरिएको थियो ।

सोही ३० जना मध्येको ग्राण्ड फिनाले शनिबार राती तरहराको बिहीबारे बजारमा भव्य रुपले आयोजना गरिएको कार्यक्रम संयोजक सुनिल तिम्सिनाले बताए । उनका अनुसार विद्यार्थीमा अथाहा सम्भावना रहेको भएपनि प्रस्तूती दिन लजाउने र डराउने भएकाले त्यसलाई चिर्नका लागि पनि आँफूहरुले उक्त कार्यक्रमको आयोजना गरिएको बताए । कार्यक्रम मानव सेवा आश्रमका अभियन्ता रामजी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने तरहरा आसपासका मानिसहरुको भीँड रहेको थियो ।