इटहरी: तरहरा जेसीजको सप्ताहव्यापी कार्यक्रम आज शनिबारबाट शुभारम्भ भएको छ ।

तरहराको बिहिबारेस्थित बास्केटबल कोर्टमा भएको सप्ताह उद्घाटनमा खुल्ला लोकनृत्य प्रतियोगिता उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य सिताराम मेहेताले आफूँ पनि जेसीजबाटै आएको तर्क गरे । 'जेसिजमा लाग्ने मानिसको व्यक्तित्व, नेतृत्व मात्र विकास नभई दीर्घकालीन रुपमा सहयोग समेत पुग्छ,'मेहेताले भने,'अहिले देशमा अनुशासनको खाँचो रहेको छ, यो अनुशासन जेसीजले सिकाउँछ ।' उनले बर्तमान सरकारप्रति इङ्गित गर्दै भने,'सरकारलाई अनुशासनको आवश्यक रहेको छ, यो कुरा हामी राजनीतिकर्मीहरुले सिक्न जरुरी छ ।'

कार्यक्रममा इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठ, राष्ट्रिय जनसहयोग कलेजका अध्यक्ष दलेन्द्र खड्का, तरहरा जेसीजका पूर्व अध्यक्ष भोलाकाजी बस्नेत लगायतले शुभकामना मन्तब्य राखेका थिए । सन्तोष कट्वालको संयोजकत्वमा सम्पन्न भएको उक्त खुल्ला नृत्य प्रतियोगितामा ८ वटा टिम सहभागी भएका थिए । प्रतियोगितामा धरान आदर्श सारंंगे नृत्य प्रथम, युवा मिलन क्लब तरहरा गर्रा नृत्य द्धितीय, कोशी सेन्ट जेम्स कलेज इटहरी सकिया थारु नृत्य तृतीय भएका थिए ।

उनीहरुले क्रमशः ६ हजार, ५ हजार र ४ हजार सहित ट्रफि हात पारेका थिए भने किराँत राई यायोख्या तरहराले सान्त्वना हुँदै ट्रफि हात पारेको कार्यक्रमका मुल संयोजक बसन्त घिमिरेले बताए । जेसीजका अध्यक्ष विकास गिरीका अनुसार सधैँको बर्ष भन्दा यस बर्ष फरक तरिकाले कार्यक्रम गरेको बताए । उनका अनुसार ४ गते अन्तर जेसीज फुटसल प्रतियोगिता, ६ गते रक्तदान कार्यक्रम र ८ गते गजल साँझ सहित सप्ताह समापन हुनेछ ।