ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “पढाइ छाडी क्यारियरमा बालबालिका” शीर्षकको समाचार छापिएको छ । झापाको सदरमुकामदेखि करिब २२ किलोमिटर दक्षिणमा रहेको कचनकबल गाउँपालिका वडा नम्बर ५ स्थित पाठामारी गाउँमा एउटा बस्ती छ । साबिक पाठामारी गाविसमा पर्ने मेची नदी नजिकै नेपाल भारतको ११२ नम्बर सीमास्तम्भले सीमा छुट्याएको छ । गाउँमा मुस्लिम र राजवंशी समुदायकै बसोबास छ । नजिकै भारतीय बजार पाठामारी र ठाकुरगञ्ज पर्छ । त्यहाँबाट नेपाल भित्र्याउने किराना तथा खाद्यान्न सामग्री ल्याए बापत सीमाक्षेत्रका बालबालिकाले दिनमा ५ सयदेखि एकहजार सम्म कमाउँछन् । बरोजगारीमा कारण अधिकांश बालबालिका विद्यालय जान छाडिसकेका छन् । बस्तीका आधा बढी बालबालिकाले पढाइ छाडिसेकेको शिक्षक विजय हजामले बताए । ३ देखि ५ कक्षा पढ्दापढ्दै बालबालिकाहरु कमाइको बाटोमा लाग्ने गरेको उनको भनाई छ ।

कोशीपत्र : आजको कोशीपत्र दैनिकमा “सुन्दरहरैंचाका तीन क्रसर उद्योगलाई कारबाहीको तयारी” शीर्षकको समाचार छापिएको छ । मापदण्ड विपरित सञ्चालनमा रहेका मोरङको सुन्दरहरैँचा नगरपालिकामा सञ्चालित तीन वटा क्रसर उद्योगहरुलाई कारबाहीको प्रक्रिया अघि बढाइएको छ । गत विहीबार नगरपालिकाको टोलीले गरेको अनुगमनका क्रममा मापदण्ड विपरित सञ्चालन भएको पाइएपछि नगरपालिकाले प्रक्रिया अघि बढाएको हो । अनुगमनका क्रममा गछिया खोलामा सञ्चालित अटल क्रसर उद्योग, पशुपति र पूर्वाञ्चल क्रसर उद्योगले मापदण्ड पुरा नगरेको पाइएको बताइएको छ । क्रसर उद्योग स्थापना गर्द बस्ती, खोला, जंगल, प्रहरी कार्यालय र लोकमार्ग भन्दा दुई किलोमिटर टाढा दुरीमा मात्रै राख्न पाइने नियम रहे पनि सो नियमलाई मिचेर ती उद्योगहरु सञ्चालित रहेको अनुगमनका क्रममा देखिएको नगरप्रमुख शिवप्रसाद ढकालले बताए ।

उद्घोष : आजको उद्घोष दैनिकमा “पूर्वका दुई स्थानबाट पोखरा उडान हुने” शीर्षकको समाचार छापिएको छ । वुद्ध एयरले पोखरालाई गन्तव्य बनाएर पूर्वका दुई स्थानबाट उडान गर्ने भएको छ । आगामी डिसेम्बर १ अर्थात् मंसिर १५ गतेदेखि बुद्ध एयरले भद्रपुर र विराटनगरबाट उडान भर्ने भएको हो । यस्तो उडान भने काठमाण्डौं ट्रान्जिट भएर गरिने बुद्ध एयरका प्रबन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतले जानकारी दिएका छन् ।