झापा : विगत ५ वर्ष यता बढी प्रयोगमा आएको सामाजिक सञ्जाल युट्युबका कारण कृषकहरूको लगानी सङ्कटमा परेको मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रका प्रमुख रविलाल शर्माले बताएका छन् ।
झापाको अर्जुनधारा नगरपालिका पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा सञ्चालित ३ दिवसीय माछा पालन सम्बन्धी तालिममा मुख्य सहजकर्ताको रूपमा रहेका मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्र जनकपुरधाम धनुषाका प्रमुख रविलाल शर्मा कृषकहरू युट्युबमा हेरेर प्रविधिको अवलम्बन गर्ने गर्नाले सङ्कटमा रहेको बताएका छन् ।
नेपालको हावापानी सुहाउँदो व्यवसाय सञ्चालन गर्नु पर्नेमा जोड दिँदै शर्माले विदेशमा सञ्चालन भएका अधिकांश प्रविधि नेपालमा सुट नहुने बताउँदै सामाजिक सञ्जाल युट्युबको भरमा व्यावसायिक माछा पालनको सुरुवात नगर्न समेत कृषकहरूलाई आग्रह गरेका छन् । पछिल्लो समय वायोफ्लोक प्रविधिमा कृषकहरू आकर्षित भएको बताउँदै नेपालमा यो प्रविधि केही केही स्थानमा राम्रो देखिए पनि अधिकांश क्षेत्रमा यसको प्रयोग सम्भव नहुने बताएका छन् ।
ब्यवसायिकरुपमा माछा पालन गर्नका लागि नेपालको पानी चिसो हुने हुँदा तातो पानीमा हुने माछाका जातहरू पोखरीमा नराख्न समेत सुझाव दिएका छन् । नेपालमा विशेष गरेर कार्प जातका माछाहरू उपयुक्त हुने बताउँदै पछिल्लो समय कृषकहरूले पङ्गास जातका माछा पालनलाई वढावा दिइरहँदा आर्थिक वर्ष २०७७/०७८ वाट मात्र नेपाल सरकारले यसलाई वैधानिकता दिएको छ ।
झापाको अर्जुनधारामा माछा पालन गर्ने कृषकलाई प्राविधिक ज्ञान दिने हेतुले माघ २८ गते देखि ३० गते सम्म सञ्चालन गरिएको तालिममा सहभागी अर्जुनधारा नगरपालिका वडा नंम्वर ११ का व्यावसायिक कृषक डम्बर चौधरीले तालिमबाट राम्रो सिप सिक्ने मौका पाएको बताउँदै, कृषकहरूले तालिमबाट भुरा नर्सरी गर्ने सवालमा राम्रो ज्ञान पाएको बताए । पूर्वमा भुराको राम्रो सम्भावना भएका कारण डम्बरले नर्सरीलाई प्राथमिकता दिँदै भुरा बिक्री गरिरहेका छन् ।
माछा पालन सम्बन्धी तालिममा सुरुवात मात्र गर्ने कृषक र लामो समय देखि व्यावसायिक माछा पालन गर्ने कृषकहरूको सहभागिता रहेको बताउँदै माछा पालन गर्ने कृषकहरूलाई आवश्यक पर्ने सिप र ज्ञानका बारेमा तालिम केन्द्रित भएको अर्जुनधारा नगरपालिका वडा नं। ५, का व्यावसायिक माछा पालक कृषक तथा माछा पालक कृषक सङ्घ अर्जुनधारा नगर अध्यक्ष, युवराज पाण्डे वताउँछन ।
तालिममा सहभागी अर्जुनधारा १, सातकटेरीकी देवीका आचार्य भन्छिन्,सुरुवाती अवस्थामा रहेको माछा पालन व्यवसायबाट घाटा भएपछि छाड्ने कि गर्ने भनेर दोधारमा रुमलिएको अवस्थामा तालिमबाट धेरै कुराहरू सिकेँ अव मात्र म व्यावसायिक ढङ्गले माछा पाल्न सक्ने भएँ । उनी थप्छिन् माछा पालनका लागि आवश्यक खुराक, चारो खुवाउने समय, औषधी उपचार लगायतका विसयमा जानकारी पाएँ सुरुमा माछा पालन गर्दा केही पनि थाहा थिएन ।
नमुना सामुदायिक वनमा ८ वटा पुराना र १ वटा नयाँ गरी ९ वटा पोखरीहरू रहेको र ४ वटा पोखरीमा माछा पालन सञ्चालनमा रहेको बताउँदै तालिम वाट राम्रो ज्ञान आर्जन गरेको वताउँछिन अर्जुनधारा ११ कि कृषक तथा नमुना सामुदायिक वनकी सचिव ठकुरानि काफ्ले ।
३ दिवसीय तालिमको समापन गर्दै, माछा पालन गर्ने कृषकहरूले ह्याचरी स्थापना गर्न सम्भव नभए पनि ह्याचिङ भएका माछाका अवशेष ल्याएर नर्सरी स्थापना गर्न सके राम्रो फाइदा हुने बताउँदै, भुरा नर्सरी गर्नका लागि आवश्यक तालिम मत्स्य मानव संसाधन विकास तथा प्रविधि परीक्षण केन्द्रले निःशुल्क प्रदान गर्ने तालिमका प्रमुख प्रशिक्षक रविलाल शर्माले प्रतिबद्धता जाहेर गरे ।
माछाका विभिन्न जातहरू बाहिरबाट विकास भएर नेपाल भित्रिए पनि नेपाल सरकारले दिने वैधानिकतालाई ध्यान दिन आवश्यक रहेको बताउँदै माछाका जात सँग सँगै विभिन्न रोगहरू भित्रिने सम्भावना बढ्ने कुरा वताउँछन अर्जुनधारा नगरपालिका पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाका प्रमुख पदमलाल राई । साथै आगामी दिनमा माछाको चारो निर्माण गर्ने देखि नर्सरी स्थापना लगायत विभिन्न तालिमहरू शाखाबाट सञ्चालन गरिने प्रमुख राईले जानकारी दिए ।
कृषिका विभिन्न कार्यक्रमहरू सञ्चालन भइरहँदा अर्जुनधारा नगरपालिकाले पशुपन्छी विकासका क्षेत्रमा समेत विपन्न प्रभावकारी कार्यक्रमहरू सञ्चालनलाई प्राथमिकता दिएको छ । कृषकको जीवनस्तर माथि उठाउनका लागि अर्जुनधारा नगरपालिकाले लामो छलफल वाट कार्यक्रम तथा योजनाहरू सञ्चालन गर्ने गरेको बताउँदै कृषकको ज्ञान सिप र क्षमता अभिवृद्धिका लागि नगरपालिका लागि परेको अर्जुनधारा नगरपालिका उप–प्रमुख कमला आचार्यले जानकारी दिइन ।


































































