धरान : धरान उपमहानगरपालिकाको आगामी आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको छ ।

आज (शुक्रवार) आयोजित नवौँ नगरसभाको दोस्रो बैठकले नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित गरेको हो । शनिवार पुनः बैठक बस्ने गरी स्थगित भएको उपमहानगरपालिकाका सूचना अधिकृत समेत रहेका राजश्व महाशाखा प्रमुख खगेन्द्र खतिवडाले जानकारी दिए । उनका अनुसार शनिवार सुनसरी उद्योग वाणिज्य सङ्घको हलमा दिउँसो १ बजे बैठक बस्नेगरि स्थगित भएको हो । शनिवार बस्ने बैठकमा विनियोजन विधेयकमाथि छलफल हुनेछ ।

असार १५ गतेसम्म नीति तथा कार्यक्रम, आर्थिक विधेयक र विनियोजन विधेयकमाथि बोल्न चाहनेहरूलाई नाम टिपाउन समय दिएको थियो । नाम टिपाएका वडाध्यक्ष तथा सदस्यहरूले आजको बैठकमा कुरा राखेका थिए । बैठकमा विधेयक प्रस्तुत कर्ता उपप्रमुख मञ्जु भण्डारीले सदस्यहरूले उठाएको विषयमा प्रस्ट पारेकी थिइन ।

यस्तै नगर प्रमुख तिलक राईले विधेयक पारित गर्न प्रस्ताव गरेपछि ध्वनि मतले सर्वसम्मत रूपमा नीति तथा कार्यक्रम र आर्थिक विधेयक पारित भएको हो । असार १० गते उद्घाटन भएको नगर सभा असार १९ गते बस्ने गरी स्थगित भएको थियो । बजेटमा सहमति जुट्न नसकेपछि असार २५ गतेसम्मका लागि बैठक सारिएको थियो । नवौँ नगर सभाले आगामी आर्थिक वर्ष २०७८/०७९ को अनुमानित कूल बजेट २ अर्ब ३ करोड ६४ लाखको बजेट, नीति तथा कार्यक्रम पेस भएको थियो ।