धरान : सुनसरी उद्योग वाणिज्य सङ्घमा आयोजित खाद्य उद्योगी व्यवसायीहरुसंग खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धी गोष्ठी २०७८ असोज १५ गते सम्पन्न भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि धरान उपमहानगरपालिकाका मेयर तिलक राईले 'बजार अनुगमनका क्रममा व्यवसायीलाई कारबाही भन्दा पहिले सचेत गराउनु पर्दछ' भन्दै यस प्रकारको सचेतना गोष्ठी आयोजना भएकोमा खुसी व्यक्त गरे । मेयर राईले धरानमा पाउने खानेकुरा गुणस्तरीय छ भन्ने सन्देश पनि दिनुपर्ने बताए ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका प्रमुख काशीनाथ घिमिरे र धरान उपमहानगरपालिकाका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटा श्रोत व्यक्ति रहेको उक्त कार्यक्रमको सभापतित्व सङ्घका अध्यक्ष गिरिधारी सापकोटाले गरेका थिए ।
सुनसरी उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य तथा तालिम तथा गोष्ठी संयोजक विष्णु बरालको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा खाद्य व्यवसायी, डेरी व्यवसायी, होटेल व्यवसायी, बेकरी उद्योगका व्यवसायी, डिपार्टमेन्ट स्टोरका प्रतिनिधि गरी करिब ४० जनाको उपस्थिति रहेको थियो ।
खाद्य स्वच्छता के हो ? गुणस्तर के हो ? लेबलिङ्ग, प्याकेजिङ्ग के हो ? दण्ड जरिवानाबाट बच्न के के गर्नुपर्छ ? जस्ता विषयहरूलाई समावेश गरिएको सो कार्यक्रममा उपभोक्ता हित तथा संरक्षण मञ्चका अध्यक्ष कृष्ण ताम्राकारको समेत उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालक सङ्घका महासचिव राजेश अग्रवालले गरेका थिए ।


































































