काठमाडौँ : नेपाली गीतसङ्गीतका गायक, मोडल तथा सर्जक दीपेन्द्र बुढा ठकुरीको नयाँ गीत ‘सुनको महल’ सार्वजनिक गरिएको छ। मंगलबार पोखराको ‘मिडटाउन’मा एक औपचारिक कार्यक्रमको आयोजना गरी भिडियो सहितको गीत सार्वजनिक गरिएको हो।

गीतमा दीपेन्द्र बुढा ठकुरीको स्वर रहेको छ भने भिडियोमा पनि मुख्य अभिनय गरेका छन्। यस्तै गीतमा सङ्गीत र एरेन्जको काम अर्जुन थापाले गरेका छन् भने भिडियोमा निर्देशन पनि अर्जुन कै रहेको छ। कार्यक्रममा गायक दीपेन्द्रले गीतसङ्गीतमा पहिल्यै देखी रुचि भए पनि यस गीत आफ्नो पहिलो म्युजिक भिडियो भएको बताए।

भिडियोमा हेलिकप्टर देखी मंहगा लोकेसनमा छायाङ्कन गरेको देखिन्छ । यसै विषयमा सञ्चारकर्मीहरूको प्रश्नमा निर्माता समेत रहेका दीपेन्द्र भन्छन्, ‘मैले यस भिडियोमा निर्माताको नजरबाट पनि कुनै पनि कमी हुन दिएको छैन । सकेसम्म राम्रो बनाउन् भनेर लागेका हौँ । कस्तो लाग्छ दर्शकले भन्नुहुनेछ ।’ दीपेन्द्रका अनुसार भिडियो निर्माण देखी प्रमोसनसम्म गर्दा झन्डै १३ लाख खर्च भइसकेको छ ।

निर्देशक अर्जुनले पनि आफ्नो टिमले सक्दो मिहिनतका साथ काम गरेको बताए । राती अबेर सम्मको छायाङ्कनमा पनि कलाकारसँगै प्राविधिक टिमको मिहिनतले भिडियो राम्रो बनेको अर्जुनले बताए । ‘कलाकार र प्राविधिक दुवैको पाटो उत्तिकै महत्पूर्ण हुन्छ ।

'सबैबाट एकदम खुसी छु ।' अर्जुनले भने । ‘निर्माताको हिसाबबाट दीपेन्द्र जिले कुनै कम्प्रमाइज गर्नुभएको छैन र कलाकारहरूले पनि उत्तिकै मिहिन गर्नुभएको छ ।’ भिडियोमा वरिष्ठ कलाकार निर शाह र लोकप्रिय नायिका केकी अधिकारीको पनि मुख्य अभिनय रहेको छ । भिडियोमा सुशील डाँगीको छायाङ्कन रहेको छ भने विवेक सुनारले सम्पादन गरेका हुन्। भिडियोको निर्मात्री मिना श्रेष्ठ हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा नायिका केकी स्वास्थ्य अवस्थाका कारण भौतिक रूपमा उपस्थित हुन नसकेकाले भर्चुअल माध्यमबाट कुराकारी गराइएको थियो । भर्चुअल माध्यमबाट केकीले भिडियोमा काम गर्दाका अनुभव साटेकी थिइन् । साथै आफ्नो स्वास्थ्यमा समस्या आएकाले पोखरा उपस्थित हुन नसकेको पनि जानकारी गराइन् । उनले भनिन्, ‘कार्यक्रममा भौतिक रूपमै उपस्थित हुन मन थियो तर फिबर भएकाले आउन सकिन्, गीतको भिडियोमा हामी कलाकारसँगै प्राविधिक टिमले निकै मिहिन गरेको छ, दर्शकलाई पक्कै मन पर्छ ।’ केकीले दीपेन्द्र र अर्जुनको टिमसँग काम गर्न पाउँदा खुसी लागेको बताइन् । कार्यक्रमको गोपीकृष्ण चापागाईँले सहजीकरण गरेका थिए । भिडियो ओ.एस.आर. डिजिटलको युट्युबमार्फत सार्वजनिक गरिएको छ।