धरान : नेपाली चलचित्र क्षेत्रका एक समयका चर्चित तथा वरिष्ठ निर्देशक तथा नेपाली टेलिभिजन कार्यक्रमका प्रस्तोता दीपक श्रेष्ठलाई न्युयोर्कमा एक समारोहका बिच न्युयोर्क नेवा: गुठीले भव्य सम्मान गरेको छ।
छोटो समयका लागि अमेरिका गएका वरिष्ठ निर्देशक श्रेष्ठलाई न्युयोर्क नेवा: गुठीका संस्थापक बीके नेवा, संस्थापक अध्यक्ष आदित्य महर्जन तथा वर्तमान अध्यक्ष विजयमान सिंहले नेपाली चलचित्र क्षेत्रमा गरेको योगदानको कदर गर्दै खादा लगाइदिएर सम्मान-पत्रले सम्मानित गरेका थिए ।
कार्यक्रम प्रस्तोता, टेलिभिजन प्रस्तोता हुँदै गाउँले नामक सुपरहिट चलचित्रबाट निर्देशकको रूपमा यस क्षेत्रमा प्रवेश गरेका निर्देशक श्रेष्ठले ३० भन्दा बढी नेपाली चलचित्रको निर्देशन गरिसकेका छन्। लामो समयको अन्तरालपछि उनले घिन्ताङ नामक अन्तर जातीय फिल्मको निर्माण सकेर अमेरिकाको भ्रमणमा आएको जानकारी दिए।
सोही कार्यक्रममा नेवा: गुठीले नेवारी कला र संस्कृति जोडेर एउटा छोटो फिल्म बनाउने निर्णय गरेको छ । उक्त फिल्म बनाउने जिम्मेवारी वरिष्ठ निर्देशक श्रेष्ठलाई नै दिने निर्णय गरिएको थियो । निर्देशक श्रेष्ठले उक्त जिम्मेवारी सहर्ष स्वीकार गर्दै सक्दो सहयोग गर्ने बचन दिए ।
कार्यक्रममा श्रेष्ठले आफूलाई न्युयोर्क नेवा गुठीले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गर्दै अमेरिका जस्तो देशमा बसेर पनि नेवार समुदाय आफ्नो भाषा, कला संस्कृतिको सरक्षणमा जुटेकोमा गर्व लागेको बताए । ज्याक्सन हाइट्सको उडसाइड क्याफेमा भएको उक्त कार्यक्रमको सञ्चालन गुठीका सचिव सन्तोष महर्जनले गरेका थिए भने कार्यक्रममा स्वागत तथा समापन अध्यक्ष विजयमान सिंहले गरेका थिए।