पर्यटन र वैदेशिक मामिलामा कलम चलाउने अनुपम इटहरीमा रहेर पत्रकारिता गर्दै आएका छन् ।
उनले सामाजिक सञ्जाल मार्फत 'सबै पार्टीका युवा नेताहरूलाई सित्तैका सात सुझाव' दिएका छन् ।

१. मिडियाले बिक्ने माल बेच्छ। बिक्ने माल भनेको तपाईँले बजारमा चलेको मुद्दामा चर्का भाषण दिँदा समाचार बनाउँछ। यसो हुँदैमा तपाईँको सफलता आएको हुन्न। मिडियाले आफ्नो काम गरेको मात्रै हो। मिडियामा आउनु सफल हुनु जस्तो लाग्छ भने तपाईँले राजनीति बुझ्दा मिडियामा आउनेहरूमा अहिले कत्तिको राष्ट्रिय राजनीतिको हैसियत के छ ? आफै जानकारी राख्न सक्नुहुन्छ ।

२. पार्टी नेतालाई रिझाएर नेता हुन त दलालले नि सक्छ, तस्करले नि सक्छ, डनले नि सक्छन् । तर ग्रासरुट्समा जमेर आउने चैँ नेता हो । पार्टी नेता रिझाएर पाएको शक्तिले आफू उभिएको सङ्गठन वा समितिको नेता हुनु पनि ग्रासरुट्स पुग्नु होइन। ग्रासरुट्स पुग्नु त्यो हो कि तपाईँको बारेमा गुटिय आलोचना गरे पनि तपाईँ आफ्नो क्षेत्रमा सक्षम भएकोमा प्रश्न उठाउन नसक्नु हो । उदाहरणका लागि तपाईँ विद्यार्थी नेता हो तर विद्यार्थी नेता भएकोले आफ्नो क्षेत्रका युनिभर्सिटीको जर्नल डिस्कोर्स देखि विद्यार्थी र शिक्षाको अन्तर्राष्ट्रिय आन्दोलन र ट्रेन्डमा तपाईँ सहभागी र दक्ष जानकार हुनुहुन्न भने तपाईँ विद्यार्थी नेता होइन। विद्यार्थी फाँटमा राजनीति गर्न घुसेको एक सामान्य सदस्य मात्रै हो। यो नियम मजदुर देखी वकिलसम्म हुँदै सबैमा लागू हुन्छ ।

३. नेपालमा राजनीति मात्रै हुन्न। भूराजनीति नि हुन्छ। नेपाल आफ्नो आम्दानीले मात्रै चल्न नसक्ने दक्षिण एसियाकै दोस्रो सबैभन्दा गरिब देश हो । दक्षिण एसिया चैँ एसिया मात्रै होइन विश्वको सबैभन्दा गरिब क्षेत्रमा एक हो। त्यसैले वैदेशिक अनुदान सहयोग लिन भारत चीन देखि युरोप अमेरिकी सहयोग अनिवार्य छ। तपाईँलाई नेपाली बाहेक अङ्ग्रेजी त लगभग अनिवार्य छ। हिन्दी र चिनियाँ जाने अझ तपाईँको राजनीति भविष्यलाई मात्रै होइन देशको कूटनीतिलाई नि फाइदा हुन्छ। सम्झनुस् तपाईँ ठुलो नेता भएर भारत, चीन र अङ्ग्रेजी बोल्ने देश पुग्दा त्यही देशको भाषामा भाषण दिँदा नेपाली स्तर कस्तो दामी होला १ भाषा माध्यम मात्रै त हो भन्ने भावुकताबाट माथि उठ्नुस्। चीन देखि जापान जस्तो हैसियत भएको देशको नेता होइन तपाईँ । तपाईँको कुरा जत्ति सजिलो र सिधा भन्ने अनि बुझाउने तपाईँको हैसियत हुन्छ उत्तिकै राम्रो नेता हो तपाईँ ।

४. गुटमा नलागी नेपाली राजनीतिमा टिक्न सकिन्न, गुटमै लाग्नुस्। तर, ५१% मात्रै लाग्नुस्। ४९% चैँ पार्टीमा स्वतन्त्र भएर लाग्नुस्। पार्टी हुँदा मात्रै नेता हुने हो। पार्टी हुँदा मात्रै गुट हुने हो।

५. अरू पार्टीका सिद्धान्त बिचार र पुस्तक पनि अनिवार्य पढ्नुस्। समय अनुकूल तारिफ र आलोचना दुवै गर्न राम्रो काम लाग्छ। पार्टी प्रशिक्षण र पत्रिकामार्फत मात्रै अन्य पार्टी बारेमा धारणा बनाउँदा तपाईँ एकोहोरो मात्रै होइन असक्षम हुनुहुन्छ।

६. साथी सर्कल बनाउँदा एकै जात धर्म क्षेत्र लिङ्ग र समुदायको नबनाउनु। सबैसँग सङ्गत हुनु र खाससँग मात्रै हुनुको १८० डिग्री फरक हुन्छ। तपाईँको बृहत् जानकारी अनुभव र एक्पोजरको लागि दायरा फराकिलो हुनुपर्छ । यो फराकिलोको अर्थ तपाईँले सम्भव भएसम्म विभिन्न देशका साथीहरूसँग नि जोडिनु हो। यसले तपाईँको टिम फराकिलो र शक्तिशाली बनाउँछ। राम्रो टिम नहुँदा धेरै नेताले रिजल्ट दिन सकेनन्।

७. अहिले नेपालमा विदेशीले भाउ दिँदा सकेसम्म सबै भन्ने सुनाउने चलन छ। दूतावासले दिएको निम्तोलाई नोबेल पुरस्कार वा ओस्कार विजय गरेको जस्तो सान देखाउने चलनबाट मुक्त हुनुस्। विदेशीले आफ्नो इन्ट्रेस्टमा काम गर्छन् । तपाइकोमा होइन । तपाईँलाई प्रयोग मात्रै गर्छन् । विदेशीले बोकेको होइन जनताले बोकेको मात्र नेता हुन्छन् । दूतावाससँग कुराकानी गर्दा पार्टी र देशको गलत कुरा नसुनाउनु। तपाईँले सुनाएको कुरा कुनै न कुनै बेला सार्वजनिक हुन्छ हुन्छ। पूर्व भारतीय राजदूत रे देखी विकिलक्सले सूचना चुहाउँदा कत्तिको मकुन्डो खोलियो ? अमेरिकाले त हरेक ५० वर्षमा गोप्य सूचना सार्वजनिक गर्छ। महेन्द्र देखि बिपीसम्मको लुज टक्स सार्वजनिक भएको छन् । त्यसैले विदेशी शक्तिलाई भाउ दिने, चाकरी गर्ने र नेपाली राष्ट्रियतालाई कमजोर बनाउने कुरा नगर्दा राम्रो हो ।

धन्यवाद ।