धरान : अल नेपाल ठग्स फेमिली 'एनटीएफ'ले आयोजना गरेको ‘र्‍याप ब्याटल’ बाट एक्कासि चर्चामा आएका जी-बब नामले लोकप्रिय बनेका र्यापर सुदिप भण्डारी पहिलोपल्ट धरानमा आगामी भदौ २५ गते शनिवार आयोजना हुने “टूबोर्ग फुल भोल्युम कन्सर्ट“को लागि आउने भएका छन्। 
फुल भोल्युम कन्सर्टमा जी–बब सँगै अहिलेकी लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्नो गीतहरू प्रस्तुत गर्नेछिन् भने चर्चित र्यापरहरु प्लस डिभाइड र सिरुपाते सँगै धरानको चर्चित डिजे डबल बी र डिजे नभसनले  डीजेइङ्ग समेत प्रस्तुत गर्नेछन्।
“मिलेन लेभल तेरो बाउ बोला ए“ बोलको बहुचर्चित गीत सँगै फाइनल्ली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो लगायतका युवाहरू माझ लोकप्रिय आफ्ना अन्य गीतहरू प्रस्तुत गर्नेछन् । उनी पूर्वमा नै पहिलोपल्ट कन्सर्टका लागि धरान आउन लागेको आयोजकले जानकारी दिएको छ । त्यस्तै नेपाली फिल्म तथा आधुनिक पप गीतहरूमा एकदमै रुचाएकी गायिका अस्मिता अधिकारीको “बाबरी रङ्गमा “ अहिले निक्कै नै लोकप्रिय तथा टिकटकमा समेत उत्तिकै भाइरल छ ।  उनको काफल कमल, टाढा भए पनि, लज्जावती झार, कोहोला त्यो, साली मन पर्‍यो, तिम्रो मायाले बाँधेर राख, रम रम मरौतीं लगायत गीतहरू पनि उत्तिकै चर्चित तथा लोकप्रिय छन् । त्यस्तै र्यापर  प्लस डिभाइडका शब्दको युद्ध, बाबु भित्र केही खास, आको म यहाँ, चाहिने भन्दा बढी, म जहिले लगायतका गीतहरू र  र्यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाई लगायतका गीतहरू  युवाहरू माझ निक्कै लोकप्रिय छन्।  
लामो समयपछि धरानमा आयोजना हुन लागेको कन्सर्टमा सबै खाले दर्शकहरूको मनोरञ्जनका लागि र्‍याप र मेलोडीको सम्मिश्रण गरिएको आयोजक सिल्भर इन्टरटेनमेन्टले जनाएको छ । कन्सर्टको सञ्चालन इक्सा मादेनले गर्नेछिन् ।  कन्सर्टको लागि अग्रिम टिकट बुकिङको लागि रु.३००/- र गेट टिकट रु.५००/- राखिएको आयोजकले जानकार दिएको छ ।