धरान : आगामी शनिवार असोज २१ गते धरानको पब्लिक हाई स्कुलको मैदानमा चर्चित गायक  गायिकाहरू सम्मिलित साङ्गीतिक कार्यक्रम बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ आयोजना हुने भएको छ ।                                             
अहिलेकी सर्वाधिक व्यस्त गायिका मेलिना राईसँगै धरानबाट उदाएका  चर्चित गायक डिल्ली फोम्बो, चर्चित गायिका सुनिता थेगिम, धरानको ब्यान्ड तपस्वी ब्यान्डसँगै भोइस अफ नेपाल चौथो सिजनकी चर्चित प्रतियोगी सबिना योङ्गहाङ्ग लिम्बुको समेत प्रस्तुति रहनेछ। 
कम्मरमाथि पटुकी, कुटुमा कुटु, शिरैमा शिरबन्दी, असारे महिना, के गुलियो छ र सक्खर चिनी, तिमीले बाटो फेर्‍यो हरे, नाच फिरिरि, जेल पनि सहुँला, कसरी-कसरी जस्ता सयौँ हिट गीतहरू गाएर नेपाली सङ्गीत क्षेत्रमा राज गर्न सफल गायिका मेलिना राई लामो समयपछि धरानको कन्सर्टमा आउन पाउँदा एकदमै उत्साहित छिन्।  उनी भन्छिन् : धरानको कार्यक्रममा गाउँदा बेग्लै मज्जा आउँछ। 
डिल्ली फोम्बोको तिम्रो लागि, माईली, तिम्रो सुन्दरता, माया कस्तो हो यो माया, म माया लाउँदिन, आउँछु म भनेर निक्कै नै लोकप्रिय छन्। देश-विदेश कार्यक्रमहरूमा व्यस्त रहे पनि आफ्नो सहरमा चाहिँ उनी कोभिडपछिको पहिलो आउटडोर कन्सर्टमा उत्रदैछन्। उनलाई धरानको लोकप्रिय तपस्वी ब्यान्डले साथ् दिनेछन्।  त्यस्तै बिनायो कंगकंग बोलको चर्चित लोकगीत सँगै बाबरी चलचित्रको  हिट गीत चुलबुल चुलबुल तिम्रो बानीकी चर्चित गायिका सुनिता थेगिम धरानको कन्सर्टमा पहिलो पल्ट आफ्नो प्रस्तुति दिदैछिन। 
चर्चित पप गायक एकदेव लिम्बुकी प्रतिभाशाली बहिनी सुनिताको स्वरमा एकदेवको लोकप्रिय गीतहरू आँखामा आउने सपनी र तिम्रो मुटु पनि उतिकै लोकप्रिय रहेका छन्।अहिले चलिरहेको लोकप्रिय रियालिटी सो भोइस अफ नेपाल-४ कि चर्चित प्रतियोगी  सबिना योङ्गहाङ्ग लिम्बु समेत पहिलोपल्ट धरानको भव्य कन्सर्टमा चर्चित कलाकारहरू सँग स्टेज शेयर गर्न पाउँदा एकदमै उत्साहित छिन्।  कोच राजेश पायल राईको टिममा रहेकी सबिनाले राजेश पायल राई सँग भोइस अफ नेपाल-४को ब्लाइन्ड अडिसनमा गाएको  “आजभोली तिमीले“ सोसल मिडियाहरूमा धेरै नै भाइरल भएको छ।  
आउन लागेको नेपालीहरूको अर्को ठुलो चाड तिहारको अघिल्लो हप्ता हुन लागेको बर्डवाइजर मेलोडी कन्सर्ट २०२२ को लागि टिकट दर रु दुई सय मात्र राखिएको छ । एसपी इभेन्ट्स एन्ड इन्टरटेनमेन्टको आयोजना तथा सिल्भर इन्टरटेनमेन्टको व्यवस्थापनमा हुन लागेको कन्सर्टको मुख्य प्रायोजक बर्डवाइजर बियर रहेको छ भने रुस्लान भोड्का, रेड्ब्लु इनर्जी ड्रिंक, डिभाईन वाइन, होटेल नवयुग, केन्द्र मोशन पिक्चर्स, महेन्द्र एक्वा, सुन्दर साउण्ड सर्भिसको सहयोग रहेको छ।