इटहरी : सुनसरी ३ (क) मा नेकपा एमालेका उम्मेदवार रोहित कार्कीलाई निर्वाचन प्रतिस्पर्धा सहज भएको छ । नेकपा माओवादी केन्द्रकी उम्मेदवार सरस्वती पोखरेल सँगको प्रतिस्पर्धाले गर्दा कार्कीलाई सहज देखिएको हो । 
प्रदेश १ की निवर्तमान उपसभामुख भए पनि पोखरेल स्थानीय स्तरमा खासै परिचित छैनन् । यसअघि राप्रपामा रहेका कार्की तत्कालीन खनार गाविसका पूर्व अध्यक्ष भएकाले उनको आफ्नै जनमत छ । राप्रपा भित्र बलियो छवि बनाएका उनी २०७४ को निर्वाचन ताका नेकपा एमालेमा प्रवेश गरेका हुन् । 
एमालेमा पनि कमजोर मानिएका कार्कीको उम्मेदवार काँग्रेस माओवादी गठबन्धनलाई भारी पर्ने देखिएको छ । एमालेमा कमजोर उम्मेदवार पाएको बेला काँग्रेसले भने अवसर गुमाएको छ । 
काँग्रेसका दीपक ढकालले ५ वर्षदेखि प्रदेश सभा सदस्यको तयारी गरेका थिए । क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा उम्मेदवार विजय कुमार गच्छदार निकट ढकालले अन्तिम समयमा टिकट पाएनन् । हाल उनी मुस्ताङ भ्रमणमा निस्किएका छन् । 
काँग्रेसले उम्मेदवारी नपाएपछि स्थानीय कार्यकर्ता आक्रोशित छन् । इटहरी उपमहानगर क्षेत्र भित्रका २ (क) र ३ (क) दुवै माओवादीको भागमा परेपछि काँग्रेस कार्यकर्ता आक्रोशित बनेका हुन् । जसको प्रभाव अगामी निर्वाचनमा देखिने प्रस्ट छ । यसअघि १४ औँ क्षेत्रीय अधिवेशनमा विजय कुमार गच्छदारले कार्यकर्तालाई धेरै दु:ख दिएका कारण पनि काँग्रेस कार्यकर्ता जागरूक देखिएका छैनन् । त्यससँगै गच्छदारको बिग्रँदो छविले प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रभावित हुने निश्चित छ । सङ्घमा गच्छदार र प्रदेशमा माओवादी उम्मेदवार भएको कारण इटहरी काँग्रेसका कार्यकर्ता जागरूक हुन सकेका छैनन् । 
त्यससँगै भोट माग्ने बलियो मुद्दाको खोजीमा छ गठबन्धन । एमालेले भ्रष्टाचार विरोधी अभियान चलाउने देखी स्थानीय क्षेत्रको विकाशलाई मुद्दा बनाएको छ । एमालेबाट प्रतिनिधिसभा उम्मेदवार भगवती चौधरीले महिला सशक्तीकरण, युवा स्वरोजगार र कृषिका मुद्दा उठाएकी छिन् । 
यसअघिका प्रदेश सांसद लिलम बस्नेतले भित्री भागमा विकाश निर्माणका अभियान चलाएका थिए । अहिले उनको कामलाई निरन्तरता दिने भन्दै एमाले घरदैलो अभियानमा छ । बस्नेतले टिकट नपाएपछि स्वतन्त्र उम्मेदवारी दिने बताए पनि पछि एमाले उम्मेदवारलाई सहयोग गर्ने बाचा गरे ।
गठबन्धनमा काँग्रेसको भागमा पर्ने भए धेरै मेहनत गर्नुपर्ने बताउँदै आएका एमाले कार्यकर्ता अहिले ढुक्क देखिएका छन् । प्रदेशमा खासै मेहनत गर्नु नपर्ने भएपछि सम्पूर्ण ध्यान प्रतिनिधिसभामा लगाउन सकिने बताउँछन् नेकपा एमाले इटहरी सहसचिव जितेन्द्र थापा । गच्छदारको भ्रष्टाचार अभियोग र माओवादीको कमजोर उम्मेदवारले एमालेलाई फाइदा पुग्ने उनको विश्वास छ । 
नेकपा माओवादी केन्द्रबाट ३ (क) का चुनाव परिचालन समितिका इन्चार्ज शिव डाँगी काँग्रेस खासै सक्रियता नदेखाएको गुनासो गर्छन् । गठबन्धन भनिए पनि काँग्रेस भित्रको आन्तरिक कलह देखाउँदै नेताहरू पन्छिने गरेको उनले सुनाए । काँग्रेसको मतले चुनाव जित्ने सोझो आधार भए पनि स्थानीय नेतृत्वले चासो नदिएको उनले प्रस्ट पारे । काँग्रेसको यस्तै अवस्था अन्तिमसम्म रहे चुनाव परिणाम सकारात्मक नहुने उनले बताए ।