धरान : गएको मङ्सिर ४ गते भएको चुनावमा सुनसरी-१ प्रदेश सभा (क) मा काँग्रेस अन्तर्घातकै कारण हारेको भन्ने विवाद अझै सेलाएको छैन । पार्टीको सुनसरी-१ क्षेत्रीय समितिद्वारा शनिवार आयोजित चुनावी समीक्षामा आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका काँग्रेसका स्थानीय नेता, कार्यकर्तालाई अनुशासनको कारबाही गर्नबाट चुक्नु नहुने सुझाव आएको क्षेत्रीय समितिले जनाएको छ।  
क्षेत्रीय सभापति सुजेन्द्र तामाङका अनुसार कार्यक्रममा विचार राख्ने अधिकांशले पार्टीले लिएको चुनावी गठबन्धनको नीति र सिट बाँडफाँड गलत भएको बताए । उनीहरूले चुनाव अघि नभई चुनावपछि सरकार सञ्चालनमा मात्र गठबन्धन गर्न उपयुक्त हुने विचार राख्दै गठबन्धन नै गर्दा पनि सुनसरी-१ मा भने सङ्घ र प्रदेश वा दुवै प्रदेशमा काँग्रेस लड्नु पर्ने तर्क राखेका थिए । 
गुटगत भावना र महाधिवेशनको तिक्तता पनि हारको अर्को कारण बनेको उनीहरूले औँल्याए । सङ्गठन राम्रो हुँदाहुँदै पनि केन्द्रीय नेतृत्वको कमजोरीका कारण कार्यकर्तामा उत्साह नआएको, विद्रोहीपन उत्पन्न भएको र गुटगत प्रतिशोध पैदा गराएकाले केन्द्रीय नेतृत्वलाई नै अनुशासनको कारबाही गर्नुपर्ने बताए। सभापति तामाङका अनुसार ‘तथापि पार्टीका आधिकारिक उम्मेदवारलाई हराउन प्रत्यक्ष भूमिका खेलेका स्थानीय नेता कार्यकर्तालाई भने अनुशासनको कारबाही गर्नबाट चुक्न नहुनेमा जोड दिए ।’
सभापति तामाङको सभापतित्वमा भएको समीक्षा कार्यक्रममा केन्द्रीय सदस्य लक्ष्मी खतिवडा, पूर्व केन्द्रीय सदस्य तथा पूर्व सांसद मिना सुब्बा, प्रदेश १ सदस्यद्वय गणेश परियार र अञ्जना राई, जिल्ला सचिव माधव घिसिङ, प्रदेश सांसद ममता तामाङ, महासमिति सदस्यहरू तिलक राई, जगतबहादुर कार्की र कृष्णकला मादने, प्रदेशसभा १(१) र १(२) सभापति क्रमशः अनिल श्रेष्ठ र मुरारी भट्टराई, नगर सभापति श्याम पोखरेल, प्रत्याशी उम्मेदवारद्वय किशोर राई र बुद्धि कटवाल, महाधिवेशन प्रतिनिधि राजु साह लगायत जिल्ला, क्षेत्र, प्रदेशसभा, नगर, वडा र टोल समितिका नेता, भातृ, शुभेच्छुक संस्थाका नेताहरूको उपस्थिति थियो । 
छलफलमा प्रदेशसभा सदस्य अजय राई, वराहक्षेत्र ३ वडा अध्यक्ष राजदीप लामा, क्षेत्रीय प्रतिनिधि निर्मला गुरुङ, प्रदेशसभा १(२) सचिव विजय घिमिरे, क्षेत्रीय सदस्य पदमसुन्दर लिम्बु, धरान ६ का कार्यवाहक सभापति वीर बहादुर कार्की, धरान ५ का वडा सभापति कुमार देवान, वराहक्षेत्र २ का वडा सभापति अमर कटवाल, क्षेत्रीय सल्लाहकार कर्णबहादुर कार्की, धरान १ का कार्यवाहक सभापति सुमन श्रेष्ठ, प्रदेशसभा सदस्य दिनेश न्यौपाने, प्रदेशसभा १(१) का उपसभापति झुमादेव राईले आफ्नो भनाई राखेका थिए । 
यस्तै धरान १० का वडा सभापति पावेल राई, धरान-१५ का वडा सचिव राजकुमार श्रेष्ठ, प्रदेशसभा १(१) सदस्य सुवास राई, क्षेत्रीय प्रतिनिधि पुष्पा ढकाल, शारदा प्रसाद भट्टराई लगायतले समीक्षात्मक विचार राखेका थिए भने क्षेत्रीय सचिव केशव पुरी, क्षेत्रीय सहसचिव सुमित राई, प्रदेशसभा १(२) सचिव विजय घिमिरे र नेपाल शिक्षक सङ्घका नगर सचिव भरत शाक्यले टिपोट गरेका थिए । कार्यक्रमको सञ्चालन क्षेत्रीय सचिव महेन्द्र प्रधानले गरेका थिए ।