इटहरी : प्रदेश १ को नामाङ्कन भएको उपलक्ष्यमा प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ । प्रदेश सभाको मिति फाल्गुन १७ को बैंठकले कोशी प्रदेश नाम राखेपछि विदा दिने निर्णय गरेको हो ।
बुधबार बसेको मन्त्रीपरिषद बैठकले विदा दिने निर्णय गरेको आन्तरिक मामिला मन्त्रालयका सचीव उमेश बस्नेतले जानकारी दिएका छन् । सूचना प्रकाशित गर्दै सचीव बस्नेतले विदा बारे जानकारी गराएका हुन् ।
'प्रदेश नं. १ को नाम कोशी प्रदेश राख्ने प्रस्ताव पारित भएकाले प्रदेशको नामाकरण भएको उपलक्ष्यमा प्रदेशभित्रका सबै सरकारी कार्यालय, सार्वजनिक संस्थान, प्रतिष्ठान र शैक्षिक संस्थाहरुलाई मिति २०७९ साल फागुन १८ गते विहिवार सार्वजनिक विदा दिने प्रदेश सरकार (मन्त्रिपरिषद्) बाट मिति २०७९।११।१७ मा निर्णय भएकाले सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ' विज्ञप्तिमा भनिएको छ ।



































































