इटहरी : कुनै बेलाको मालदार अड्डाको रूपमा लिइने यातायात कार्यालय (सवारी चालक अनुमति पत्र) अहिले प्रमुख विहीन छ ।

घरेलु तथा साना उद्योग कार्यालय इटहरीबाट सरुवा भएका राजन पाण्डेले यातायात जान अस्वीकार गरेका छन् । उनी निकट श्रोतका अनुसार केही समयदेखि बिरामी भएको कारण उपचाररत छन् । 

हाकिम नहुँदा दैनिक सेवाग्राहीहरू समस्यामा परेका छन् । आइतबार लाइसेन्स नवीकरण गर्न कार्यालय पुगेका एक सेवाग्राही प्रमुख नभएकै कारण अलमलमा परे । नवीकरणको समय गुज्रिसकेको कारण प्रमुखले नै तोक लगाउनुपर्ने व्यवस्था भए अनुसार उनको लाइसेन्स नवीकरण भएन । सोमबार ११ बजे काठमाडौँ जाने तयारीमा रहेका उनले केही दिन इटहरी नै बस्नुपर्ने अवस्था आयो । अन्य कर्मचारी हाकिम विना फाइल अगाडि बढाउन आनाकानी गर्ने गरेका छन् ।

निमित्त प्रमुख पाक्रम खाँको पनि सरुवा भएपछि प्रमुख विहीन भएको छ यातायात कार्यालय । सकेसम्म यातायात कार्यालय नआउने बहाना बनाउँछन् कर्मचारी । लामो समयदेखि कार्यरत तल्लो तहका एक कर्मचारी भन्छन्, ‘पहिला मालामाल हुन्थ्यो अहिले बेहाल हुन्छ अनि को आउँछन् त ।’

सङ्घीय सरकार मातहतमा कायम मुकायम रूपमा बिन्दा कुमार नेपाल अन्तिम प्रमुख रहे । त्यस अघिका प्रमुख भीम प्रसाद गौतम प्रदेश सरकारमा सरुवा भएपछि नेपालले २०७७ साउन १ गते सम्म कार्यभार सम्हाले । त्यसपछि हरि लामिछाने निमित्त प्रमुख भए । लामिछाने पछि प्रेम प्रसाद सापकोटा, पर्वत श्रेष्ठ र अन्तिम समयसम्म खाँले निमित्तको रूपमा कार्यभार सम्हाले । गौतम पछि कामु र निमित्तकै भरमा चलेको छ कार्यालय ।