इटहरी : इटहरी स्थित यातायात व्यवस्था कार्यालय अस्तव्यस्त र दुर्गन्धित छन् । धरान लाइन हलगडामा रहेको सवारी जाँचपास र इटहरी ८ गैसारको चालक अनुमतीपत्रको कार्यालयको अवस्था उस्तै छ । सरसफाइ देखी कार्यालय व्यवस्थापनमा भएको लापरबाहीले सेवाग्राही समस्यामा छन् ।

बाहिरसम्म फैलिने गरी शौचालयको दुर्गन्धले व्यवस्थापकीय लापरबाही छताछुल्ल पारेको छ । सेवाग्राहीको सम्बन्धित शाखा सम्म पहुँच नहुनुले अस्तव्यस्तता झनै प्रस्ट हुन्छ । समय समयमा गइरहने सर्भर र कर्मचारीको अनुपस्थितिले झन्झटिलो अवस्था सृजना गरेको छ ।

सोही अव्यवस्थालाई ध्यानमा राखेर प्रदेश सरकारले इटहरी १० मा व्यवस्थित कार्यालयको स्थापना गरेको छ । बाहिरबाट हेर्दा आकर्षक देखिएको भवनको भौतिक निर्माण अन्तिम चरणमा पुगेको छ । सवारी जाँच पास र लाइसेन्स दुवै कार्यालयको लागी एउटै स्थानमा दुईवटा भवन निर्माण भएका छन् ।

दुवै भवन कोशी प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत सहरी विकाश तथा भवन निर्माण कार्यालयको योजनामा निर्माण भएका हुन् । ७ करोड ६३ लाख ७२ हजार २३८ रुपैयाँ लागतमा हेटौडाको हनुमान कन्स्ट्रक्सनले निर्माणको जिम्मा पाएको हो । २०७८ पौष ३० भित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भयो । तर सम्झौताको मिति भन्दा १५ महिना ढिला हुँदा पनि सम्पूर्ण काम सकिएको छैन ।

पार्किङ क्षेत्रको व्यवस्थापन लगायत ब्लक बिछ्याउने काम अझै बाकी छ । बिजुली बत्तीको प्रबन्ध मिलाउने देखी कार्यालयसम्म जाने बाटो अझै निर्माण हुन सकेको छैन । हाल चालु अवस्थामा रहेको बाटो स्थानीयले प्रयोग गर्न नदिने भएपछि राजमार्ग बाट सिधै कार्यालय पुग्ने नयाँ बाटो बनाउनुपर्ने भएको छ । त्यसको लागि टेङ्ग्रा खोलामा नयाँ पुल निर्माण गर्ने तयारीमा छ प्रदेश सरकार ।

दैनिक सयौँ सेवाग्राही आउने कार्यालयको नयाँ भवनमा नयाँ व्यवस्थापनको अपेक्षा सेवाग्राहीले गरेका छन् । सुनसरी इनरुवाका अजमल मियाँ लाइसेन्स कार्यालयमा धेरै झन्झट बेहोर्नुपर्ने बताउँछन् । कार्यालयको सिस्टम बुझ्न गाह्रो हुँदा बाहिरका एजेन्टलाई पैसा खुवाएर मात्र काम गर्न सकिने उनको भनाई छ।