धरान : बराह सहकारी पीडित सङ्घर्ष समितिले बराह बचत तथा ऋण संस्था लिमिटेडकी उपाध्यक्ष विष्णुमाया विकलाई ३ दिन भित्र बराह डिपार्टमेन्टमा उपस्थित भई पीडितहरूलाई प्याकेजमै भुक्तान गरिदिन अल्टिमेटम दिएको छ ।
अल्टिमेटमको अवधिमा अनुपस्थित भई सम्झौता कार्यान्वयन नगरेको अवस्थामा कुनै प्रकारको अप्रिय घटना भएमा सोको जिम्मेवारी विष्णुमाया आफैले लिनुपर्न चेतावनी दिइएको छ । हिजो शुक्रवार दिइएको अल्टिमेटम पत्र म्याद भोलि आइतबार सकिँदैछ ।
समितिले ६ महिना अघि भएको त्रिपक्षीय सम्झौताको अवधि सकिएको उल्लेख गर्दै त्यसलाई ३ दिन भित्र कार्यान्वयन गर्न अल्टिमेटम दिएको हो । बराह बचत तथा सहकारी, बराह ग्रुप अफ कम्पनी प्रालिका सञ्चालकहरू र सङ्घर्ष समिति बिच २०७९ पुष १८ गते एक सम्झौता भएको थियो ।
सम्झौतामा कम्पनी सञ्चालकहरू र कम्पनीहरूको नाउँमा रहेको जग्गाहरू समेत विक्री वितरण गर्दै व्यवसाय सञ्चालन गरी पीडितहरूलाई भुक्तानी समेत गर्दै जाने कुरा उल्लेख छ । सम्झौता भएको ६ महिना बितेपनि त्यसको कार्यान्वयन नभएको पत्रमा उल्लेख छ ।
२/३ जना व्यक्तिसँग मौखिक रूपमा सोही अनुसार गर्ने भने पनि व्यवहारमा तदारुकता, इमानदारता, विश्वसनीयता नदेखाएकोले सङ्घर्ष समितिले अल्टिमेटमा पत्र दिएको पत्रमा उल्लेख छ । प्रतिष्ठानमा उपस्थित भई व्यवहारिक र कानुनी समस्याहरूलाई प्याकेजमै समाधान गर्न गराउन सङ्घर्ष समितिले निर्णय गरेको जानकारी गराइएको छ ।
अल्टिमेटम पत्रमा सङ्घर्ष समितिका अध्यक्ष श्यामप्रसाद ढकालेको हस्ताक्षर सही छ।
Baraha-Pidit-altimetam