धरान : पत्रकारीता पेशामा मात्र क्रियाशील रहेकाहरूको पेशागत संगठन बनाउन नेपाल पत्रकार महासंघको शुद्धिकरण अभियानलाई सुनसरी जिल्लामा दृढतापूर्वक लागु गर्न पेशागत सङ्गठनहरूले प्रतिबद्धता जनाएका छन् ।

नेपाल प्रेस युनियन, प्रेस चौतारी नेपाल, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस संगठन सुनसरीले आज मङ्गलवार संयुक्त विज्ञप्ति प्रकाशित गर्दै उक्त प्रतिबद्धता जनाएको हो ।

नेपाल पत्रकार महासंघ सुनसरीले केन्द्रीय समितिले जारी गरेको १५ बुँदे शुद्धिकरण मापदण्डको विषयमा पेशागत संगठनका पदाधिकारीहरू सँग आज गरेको छलफल लगत्तै उक्त मापदण्डप्रति सङ्गठनहरूले प्रतिबद्धता जनाउँदै संयुक्त वक्तव्य जारी गरेको छ ।

वक्तव्यमा भनिएको छ ‘केन्द्रीय कार्यसमितिले सदस्यता शुद्धिकरण गर्न जारी गरेको १५ बुँदे मापदण्ड र त्यही आधारमा प्रदेश समितिले सर्कुलर गरेको मापदण्डलाई पूर्ण रूपमा पालना गर्न छलफलले प्रतिबद्धता व्यक्त गरेको छ ।’

पत्रकार महासंघलाई क्रियाशील पत्रकारको साझा संगठनका रूपमा विकास गर्न नेपाल पत्रकार महासंघ सुनसरी शाखाको २०७९ पुष २ गते सम्पन्न साधारण सभाले राजनीतिक दलमा आवद्ध पत्रकार, विवादित व्यक्तिको सवालमा उठेको कुरालाई स्मरण गर्दै सदस्यता शुद्धिकरण अभियानमा केन्द्रको मापदण्ड सहित थप कडाई गर्ने कुराप्रति समेत सहमति भएको वक्तव्यमा उल्लेख छ ।

वक्तव्यमा प्रेस युनियनका जिल्ला सचिव बाबुराम कार्की, प्रेस चौचारीकी अध्यक्ष सुभद्रा प्याकुरेल, प्रेस सेन्टरका केन्द्रीय उपमहासचिव राजन केडी र समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य आनन्द श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उनीहरू सहित छलफलमा पत्रकार महासंघ केन्द्रीय सदस्य अमर खड्का, प्रदेश समिति सचिव देवेन्द्र कार्की र पूर्व जिल्ला अध्यक्ष हर्ष सुब्बा उपस्थित थिए । महासंघका जिल्ला सभापति जनकऋषि राईको सभापतित्वमा भएको छलफलमा महासंघका पदाधिकारीहरू, संगठनहरुका पदाधिकारीहरू सहभागी थिए ।

press-nepal-letter