इटहरी : इटहरी उपमहानगरपालिकाको आर्थिक ऐन २०८०/८१ मा उल्लेख भएका कर वृद्धिका प्रावधान विरुद्ध राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले निरन्तर प्रदर्शन गरिरहेको छ । गत साउन १७ गते मेयर हेमकर्ण पौडेललाई ज्ञापन पत्र बुझाएको रास्वपाले २३ गतेदेखि आन्दोलन सुरु गरेको हो ।

मेयर पौडेलले आपसी सरसल्लाहमा कर समायोजन गर्ने बाचा दिएपनि त्यसको कुनै गुन्जायस नदेखिएको रास्वपा कोशी प्रदेश प्रवक्ता कमल बाबु मैनालीले बताए । रास्वपाले करवृद्धिको विरुद्ध २७ हजार नागरिकको हस्ताक्षर सङ्कलन गरेको मैनालीले जानकारी दिए । ‘सेतो कपडामा हस्ताक्षर गर्ने हरेक नागरिकको विवरण समेत सङ्कलन गरेका छौँ । मेयरलाई सोही विवरण सहित ज्ञापन पत्र बुझाउने तयारीमा रास्वपा छ ।,’ उनले भने, ‘आज (शुक्रवार) ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेपनि मेयर विदामा भएको कारण आइतबार पुनः विवरण सहित ध्यानाकर्षण गराउँछौँ ।’

उपमहानगरपालिकाले गठन गरेको राजस्व समायोजन तथा पुनरावलोकन समितिले काम गर्न नसकेको भन्दै उनको भनाइ छ । निर्धारित समयमा कामगर्न नसक्नुको कारण जनतालाई भन्नुपर्ने धारणा राखे । नागरिकको आवाजलाई निस्तेज बनाउन खोजे त्यसको परिणाम राम्रो नहुने चेतावनी दिँदै उनले भने ‘कर घटाउने प्रक्रिया अगाडी नबढे घरघरमा पुगेर हस्ताक्षर अभियान चलाउँछौँ । कर विरुद्ध अभियान निरन्तर अगाडी बढाउँछौँ ।’

उपमहानगरपालिकाले साउन २६ को कार्यपालिका बैठकबाट कर समायोजन तथा पुनरावलोकन समिति गठन गरेको थियो । राजस्व परामर्श समिति मार्फत भदौ मसान्त सम्म अध्ययन प्रतिवेदन बुझाउने गरी गठन भएको समितिले कुनैपनि काम गर्न सकेन । वडा नम्बर ३ का वडाध्यक्ष उमेश सुवेदीको संयोजकत्वमा गठित समितिले प्रतिवेदन बुझाउन नसकेको हो ।

विज्ञ सम्मिलित समितिले समयमै प्रतिवेदन बुझाउन नसकेपछि पुनः म्याद थप्ने तयारी भइरहेको समितिका एक सदस्यले जनकारी दिएका छन् । संयोजक सुवेदीले ३१ गते बसेको समितिको बैठकले ७ दिनको म्याद थपगर्ने निर्णय गरेको बताए । हालसम्म कार्यपालिका बैठक बस्न नसकेको बताउँदै उनले तयार पारेको जति प्रतिवेदन पनि मेयरलाई  बुझाउन नपाएको उनको भनाइ छ । मेयर र प्रमुख प्रशासकीय अधिकृतलाई समेत भेट्न नपाएको बताउँदै उनले उपमेयरसँग सल्लाह गरेर अगाडी बढ्ने प्रतिक्रिया दिए ।