धरान : उद्यमशील बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष २०७९/८० मा कुल १ अर्ब ३९ करोड ११ लाख ८० हजार ९०३ रुपैयाँ ३४ पैसाको कारोबार गरेको छ । सोही अवधिमा सहकारीले खुद नाफा ४३ लाख ६४ हजार ३४१ रुपैयाँ कमाएको छ ।

सहकारीको शनिवार चुम्लुङ हिममा भएको ११ औँ वार्षिक साधारण सभामा कार्यवाहक अध्यक्ष सिंह बहादुर मादेनले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै उक्त हिसाब प्रस्तुत गरेका हुन ।

साधारण सभाको उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर आईन्द्र विक्रम बेघाले गरेका थिए । उनले सहकारीले नागरिकको लगानी र भूमिकालाई जोड्न सके मात्र राज्य अगाडि बढ्न सक्ने बताए ।

उपमेयर बेघाले भने ‘व्यक्तिगत स्वार्थमा जनताको बचतलाई जोखिममा पारेर दुःख दिने दुईचार सहकारीका कारण सहकारीप्रतिको जनविश्वास घट्दै गएको छ ।’

नीति नियम र विधि विधानमा रही काम गरिरहेको सहकारी घाटामा नजाने बताउँदै उपमेयर बेघाले सहकारीले छरिएर रहेका पुँजीलाई सङ्कलन गरी पुँजी बजार चलायमान गरिरहेको  बताए ।

वडा १० का अध्यक्ष विवेक राईले एउटै व्यक्तिले धेरै वटा सहकारीमा कारोबार गरेको कारण पनि सहकारीमा समस्या आएको बताउँदै त्यस्ता व्यक्तिसँग सावधान रहन आग्रह गरे ।

जिल्ला सहकारी सङ्घ सुनसरी दिनेश श्रेष्ठले स्थानीय तहले ठोस कार्य नीति ल्याएर सहकारीलाई जीवन्त राख्न आग्रह गरे ।

साधारण सभामा ‘दिव्य रोशनी’ साप्ताहिक पत्रिकाकी सम्पादक/प्रकाशक मनिता चाम्लिङ राई लाई नगद १० हजार रुपैयाँ पुरस्कार सहित सम्मान गरिएको थियो । यसै गरी कर्मचारी तथा बचतकर्ता र असल ऋणीहरू ३० जनालाई सम्मान गरियो ।

संस्थाको कुल शेयर लगानी आव ०७८/०७९ मा ५ करोड २ लाख २४ हजार ४ सय रहेकोमा चालु वर्ष ४ दशमलव ७३५ प्रतिशत सेयर पुजिँ वृद्धि भएको छ । वृद्धि शेयर लगानी सहित सहकारीको कुल लगानी ५ करोड २६ लाख १ हजार १ सय पुगेका प्रतिवेदनमा उल्लेख छ ।

सहकारीमा महिला शेयर सदस्य २०८४ तथा पुरुष १९६२ जना सहित कुल शेयर सदस्य सङ्ख्या ४०४६ रहेका छन् । सहकारीले आर्थिक वर्ष २०७९/८० मा कुल ५ करोड ८६ लाख ८६ हजार २९० रुपैयाँ ८० पैसा आम्दानी गरेको छ ।

लेखा समिति संयोजक आरती राईले संस्थाको लेखा प्रतिवेदन प्रस्तुत गरेकी थिइन । सभा अध्यक्षता कार्यवाहक अध्यक्ष सिंहबहादुर मादेनले गरेका थिए ।