नवरात्रको तेस्रो दिन चन्द्रघण्टा स्वरूपिणी नवदुर्गा भवानीको उपासना, पूजा गरिँदै छ । देवी दुर्गा आफ्नो तृतीय स्वरूपमा चन्द्रघण्टा नामले प्रख्यात हुनुहुन्छ । आज धरानको दन्तकाली लगायतका शक्ति पीठमा चन्द्रघण्टा स्वरूप भवानीको पूजा गरिँदै छ ।

चन्द्रघण्टा देवीलाई शान्ति र शक्तिको प्रतीकका रूपमा पूजा गरिन्छ ।  उहाँको मस्तकमा घण्टीको आकार जस्तै अर्ध चन्द्र भएको हुनाले चन्द्रघण्टा नाम रहन गएको हो । उहाँको शारीरिक वर्ण स्वर्णको जस्तै छ ।  दस बाहुले युक्त देवी चन्द्रघण्टा त्रिशूल, गदा, तरबार, कमण्डलु, धनुष, बाण, कमल पुष्प, अक्षर माला धारण गरेकी, वरद तथा अभय मुद्रा प्रदर्शित गरेकी देवी चन्द्रघण्टाको वाहन बाघ हो ।

देवी चन्द्रघण्टाको घण्ट ध्वनि बाट भूत-प्रेत बाधा भागेर जानेछन् र अत्याचारी दानव तथा दैत्य प्रकम्पित रहन्छन् भन्ने धार्मिक विश्वास रहेको छ । शत्रु तथा दुष्टको दमन गर्नका निम्ति  सदा सर्वदा तत्पर रहे पनि उहाँको स्वरूप भने सौम्य तथा शान्तिदायक नै छ । उहाँको प्रसिद्धि सौम्यता या सौम्य स्वभावका साथै वीरता, निर्भीकता तथा युद्ध कौशलको लागि रहेको छ । परिणामस्वरूप उहाँका साधक पनि वीर तथा सौम्य स्वभाव वाला नै हुनेछन् । चन्द्रघण्टा देवी का उपासक सिंह या बाघ जस्तै पराक्रमी तथा निर्भीक हुन्छन् भन्ने विश्वास गरिन्छ । त्यसैसरि सद्गुण, पराक्रमण तथा विनम्रताको विकास हुने र शरीरमा कान्ति र गुणको वृद्धि हुने पनि जनविश्वास रही आएको छ।

आफ्नो दिव्य ध्वनिबाट भूत-प्रेत, विघ्न- बाधाहरू नाश हुनुका साथै  देवी चन्द्रघण्टाका कृपाले भक्तका तीनै प्रकारका ताप;- आधिदैविक, आधिभौतिक र आध्यात्मिक  सबै नष्ट  गराई आफ्ना भक्तका दुःख  कष्टको निवारण शीघ्र नै हुने विश्वास धर्मावलम्बीहरूको रहेको  छ । देवीका भक्त जहाँ जहाँ पुग्छन् त्यहाँ आफ्नो दिव्य र अलौकिक व्यवहारकै  कारण सबै सुख तथा शान्तिको अनुभव गर्दछन् ।

नवरात्रको तेस्रो दिन अर्थात् आश्विन शुल्क तृतीयाको दिन यिनै चन्द्रघण्टाको ध्यान, उपासना, पाठ एवं आराधना गरिन्छ । चन्द्रघण्टा देवीको आराधना गर्नाले सबै प्रकारको दुःख, कष्ट नाश हुने र सबै प्रकारको बाधा हट्ने जनविश्वास छ ।