धरान : अदालतबाट दोषी ठहर भई दण्ड जरिवाना तोकिएका फरार अभियुक्त पक्राउ गर्ने प्रहरी अभियानको क्रममा डाका, चोरी, अंगभंग, जालसाजी लगायतका ८ जना अभियुक्त प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरी टोलीले पशुपक्षी मुद्दामा दोषी ठहर भएका फरार अभियुक्तहरू दमक-३ का ३६ वर्षीय खगेन्द्र दुलाल, अर्जुनधारा-७ का ३० वर्षीय वीरबहादुर दनुवार र अर्जुनधारा-५ का २१ वर्षीय भोटे भन्ने इमोन तामाङलाई पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको २०७८ पुष २२ गतेको फैसलाले खगेन्द्र दुलाललाई ४ महिना ११ दिन कैद तोकिएको थियो । सोही मुद्दामा २०७९ चैत ३० गतेको फैसलाले वीरबहादुर र इमान तामाङलाई जनही ११ महिना १० दिन कैद तोकिएको थियो ।

डाका मुद्दामा दोषी साबित भएका केराबारी-६ का २१ वर्षीय रोजीस राईलाई पनि प्रहरीले पक्राउ गरेको छ । राईलाई मोरङ जिल्ला अदालतको २०७९ वैशाख ४ गतेको फैसलाले २ महिना ६ दिन कैद र नगद ३ हजार रुपैयाँ जरिवाना तोकेको थियो ।

कुटपिट अंगभंग मुद्दामा दोषी साबित भएका २३ वर्षीय विकास मुकारुङ राई पनि पक्राउ परेका छन् । उनलाई मोरङ जिल्ला अदालतका २०७८ पुष २० गतेको फैसलाले नगद १० हजार रुपैयाँ जरिवाना र ७ दिन कैद तोकिएको थियो ।

जाल साझी घोषित मुद्दामा दोषी साबित ५२ वर्षीय मदन अर्याल पनि पक्राउ परेका छन् । अर्याललाई २०७८ पुष १४ गतेको फैसलाले नगद ५ हजार रुपैयाँ जरिवाना तोको थियो । उनीहरूलाई इलाका प्रहरी कार्यालय बेलबारीको प्रहरी टोलीले पक्राउ गरेको हो ।

चोरी मुद्दामा दोषी साबित भई नगद ६ हजार ५ सय जरिवाना र २ महिना ७ दिन कैद तोकिएका कटहरी गाउँपालिका-१ का २८ वर्षीय करण श्रेष्ठ, सार्वजनिक मुद्दामा १८ सय रुपैयाँ जरिवाना तोकिएका ४५ वर्षीय भूपाल यादवलाई पनि पक्राउ गरिएको छ ।

उनीहरूलाई खोजतलास गर्ने क्रममा प्रहरी चौकी कटहरिबाट खटिएको प्रहरी टोलीले गाउँघर बाटै पक्राउ गरेको हो । पक्राउ परेका अभियुक्तहरूलाई जिल्ला अदालतमा उपस्थित गराएकोमा तोकिएको कैद भुक्तानको लागि जिल्ला कारागार पठाइएको छ ।