विराटनगर : नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले जनतामा नयाँ आशा जगाउन सरकारको अहिलेको नेतृत्व परिवर्तन आवश्यक रहेको बताएका छन् ।

अहिलेकै नेतृत्वले जनतामा नयाँ आशा जगाउन नसक्ने बताउँदै उनले अहिलेको सरकारको नेतृत्व परिवर्तन नभई आर्थिक मन्दी पनि अन्त्य नहुने बताए । 

काठमाडौँ प्रस्थान गर्नु अघि विराटनगर विमानस्थलमा बुधवार पत्रकारहरूसँग कुरा गर्दै डा. कोइरालाले भने, ‘आर्थिक मन्दी अन्त्य गर्न र जनतामा नयाँ आशा जगाउन आवश्यक भएकाले सरकारको अहिलेको नेतृत्व परिवर्तन आवश्यक छ ।’

प्रधानमन्त्री पुष्पकमल दाहालले देशको लागि आफूले गरेको कामको वार्षिक रिपोर्ट सार्वजनिक गर्नुपर्ने उनले बताए । कोइरालाले बहुदलीय व्यवस्थामा प्रधानमन्त्री कार्यकारी हुन्छन्, मन्त्रीहरूले रिपोर्ट कार्ड सार्वजनिक गर्नुको अर्थ नहुने बताउँदै भने, ‘एक वर्षमा प्रधानमन्त्रीले के-के काम गर्नुभयो म जस्तै नेपाली जनता चाहेका छन्, उहाँले तत्कालै रिपोर्ट कार्ड सार्वजनिक गर्नुपर्छ ।’

राष्ट्रियसभा निर्वाचनको तयारीका लागि काँग्रेसको महासमिति बैठक सार्नुपरेको बताउँदै उनले भने, ‘अब भने तोकिएकै मितिमा महासमिति बैठक हुन्छ ।’ डा. कोइरालाले राष्ट्रियसभाको निर्वाचनमा काँग्रेस एक्लै लड्नुपर्ने बताए ।