धरान : धरान उपमहानगरपालिकाका उपमेयर अइन्द्रविक्रम बेघाले मेयर हर्क साम्पाङको क्रियाकलापको विरोधमा आज शुक्रवार वक्तव्य जारी गरेका छन् । यसअघि राजनीतिक दलहरूले मेयर साम्पाङको क्रियाकलापको विरोध गर्दा पनि उपमेयर बेघाले प्रतिक्रिया जनाउने गरेका थिएनन् ।

बिहीबार नगर प्रमुखको कार्यकक्षमा रहेको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर मेयर साम्पाङ हटाएपछि उपमेयर बेघा निकै आक्रोशित भएको उनले तत्कालै पत्रकारहरूलाई दिएको प्रतिक्रिया र आज जारी वक्तव्यबाट बुझिन्छ ।

उनले वक्तव्यमा मेयरलाई इङ्कित गर्दै भनेका छन्- संविधान र सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको रक्षा गर्ने, यस व्यवस्थाको सबै मूल्य र मान्यतालाई विधि सम्मत ढङ्गले आत्मसात् गर्दै कार्यान्वयन गर्ने दायित्व र जिम्मेवारी हाम्रो हो ।

यही व्यवस्था अन्तर्गत एक तहको नेतृत्वले सामाजिक सञ्जाल मार्फत संविधान र सङ्घीय लोकतान्त्रिक व्यवस्था प्रति अनादर हुने किसिमका अभिव्यक्ति दिनु प्रचलित कानुनको बर्खिलाप गर्नु हो, व्यवस्थाको विरोध गर्नु हो । त्यसकारण संविधानको पालनकर्ता र कार्यान्वयनकर्ता सबै भन्दा जिम्मेवार हुनुपर्दछ ।

तीन तहको सरकार मध्ये सबै भन्दा तल्लो तहले नियम उल्लङ्घन गरी सरकारलाई उपेक्षा गरेको, गणतन्त्र नेपालको राष्ट्र प्रमुख राष्ट्रपति र कार्यकारी प्रमुख प्रधानमन्त्रीको तस्बिर अपमानजनक ढङ्गले हटाएको विषयले दुःखी बनाएको छ ।

वक्तव्यमा भनिएको छ ‘नगर प्रमुख ज्यूले जिम्मेवार भई सबै तह र तप्कालाई समेटेर अघि बढ्न समेत आग्रह गर्दछु । व्यक्तिगत र एकल ढङ्गले होइन सामूहिक तरिका र आधिकारिकताले मात्रै जिम्मेवारीको ओज र गरिमा कायम राखेर परिणाम निकाल्न सकिने कुरा समेत अनुरोध गर्दछु ।’

Dharan-upa,ahanagar-begha