इटहरी : नेपाली काँग्रेसका शीर्ष नेताहरू विराटनगरमा भेला भएका छन् । नेपाली काँग्रेस कोशी प्रदेशको कार्यालय विराटनगरमा एकताको सन्देश दिन गठबन्धनमा आबद्ध दलहरू सहितको भेटघाटमा नेताहरू जुटेका हुन् ।

वरिष्ठ नेता डाक्टर शेखर कोइराला, महामन्त्री विश्वप्रकाश शर्मा, सहमहामन्त्री भीष्मराज आङ्देम्बे, पूर्व उपसभापति विजयकुमार गच्छदार तथा केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की सहितका नेताहरूको उपस्थितिमा गठबन्धनको मत जोगाएर अगाडि बढ्ने समझदारी बनेको हो ।

सोमबार दिउँसो मनोनयन दर्ता पछि उम्मेदवार सहितको अनौपचारिक भेटघाटका क्रममा नेताहरूले गठबन्धनको विजय निश्चित रहेको बताए ।

वरिष्ठ नेता डाक्टर कोइरालाले सिटौलाको भूमिका संविधान लेखन देखि शान्ति प्रक्रिया सम्म महत्त्वपूर्ण रहेको बताए । गिरिजाप्रसाद कोइरालाको निर्देशनमा आफू सँगै धेरै पटक विद्रोही माओवादी सँगको वार्तामा सिटौलाले निर्णायक काम गरेको उनले स्मरण गराए।

महामन्त्री शर्माले माओवादीको विद्रोहका घाइते देखि विद्रोहलाई शान्तिमा रूपान्तरण गर्ने अगुवा दुई जना गठबन्धनको उम्मेदवार रहेको बताए । गठबन्धनबाट उम्मेदवार फाइनल गर्दा देखिएका असन्तुष्टि चुनावी परिणाम नदेखिने शर्माले विश्वास व्यक्त गरे ।

गठबन्धनलाई बलियो बनाउँदै लैजान तयार रहेको छलफलमा सहभागी नेताहरूले बताएका छन् । माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादीका नेताहरूको उपस्थितिमा भेटघाट कार्यक्रम सम्पन्न भएको हो ।

गठबन्धनले कोशी प्रदेशबाट राष्ट्रिय सभामा काँग्रेसका कृष्णप्रसाद सिटौला र माओवादी केन्द्रकी चम्पादेवी कार्कीलाई उम्मेदवार बनाएको छ । एमालेबाट अन्य कोटामा भोजपुरका परशुराम अधिकारी र महिलामा सुनसरीकी रुक्मिणी कोइरालाले उम्मेदवारी दर्ता गराएका छन् ।

कोशी प्रदेशमा स्थानीय तहका २७४ र प्रदेशका ९३ सांसद गरी कूल ३६७ मतदाता छन् । निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख तथा उपप्रमुखको मतभार १९ हुन्छ ।

प्रदेशमा प्रदेशसभाका ९३ सांसदमा एमालेका ४०, काँग्रेसका २९, माओवादी केन्द्रका १३, राप्रपाको ६, एकीकृत समाजवादीको ४ र जसपाको १ जना छन् । सांसदहरूतर्फ एमालेको २१२०, काँग्रेसको १५३७, माओवादीको ६८९, राप्रपाको ३१८, एकीकृत समाजवादीको २१२ र जसपाको ५३ मतभार रहेको छ ।

स्थानीय तहमा १३७ पालिकाका २७४ प्रमुख उपप्रमुख मध्ये एमालेका ११०, काँग्रेसका ११५, माओवादीका ३१, राप्रपाका ४, एकीकृत समाजवादीका ७, जसपाका ४ र स्वतन्त्र ३ जना छन् ।

पालिकामा एमालेको मतभार २०९०, काँग्रेसको २१८५, माओवादीको ५८९, राप्रपाको ७६, एकीकृत समाजवादीको १३३, जसपाको ७६ र स्वतन्त्रको ५७ मतभार छ ।

प्रदेशमा एमालेको कूल मतभार ४ हजार २१०, नेपाली काँग्रेसको ३ हजार ७२२ र माओवादी केन्द्रको १ हजार २७८, एकीकृत समाजवादीको ३४५, राप्रपाको ३९४, जसपाको १२९ र स्वतन्त्रको ५७ मतभार रहेको छ । गठबन्धन कायम रहँदा गठबन्धनको पक्षमा ५४८३ मतभार रहने देखिन्छ जुन एमालेको भन्दा १२६४ ले बढी हो ।