धरान : धरान लगायत पूर्वी नेपालका शहरी क्षेत्रबाट १०० भन्दा बढी मोटरसाइकल चोरी गरेर भारतको जोगबनी, फारबिसगञ्ज, फुल्का पुर्‍याएर नक्कली चेसिस नम्बर लगाई विक्री गर्ने गिरोहका २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार पक्राउ पर्नेमा सुनसरी जिल्ला हरिनगरा-६ का ४० वर्षीय नजाम अन्सारी र भोक्राहा नरसिंह-२ का २३ वर्षीय निकाईल अन्सारी छन् ।

उनीहरू लामो समय देखि मोरङ र सुनसरीका धरान, विराटनगर लगायतबाट मोटरसाइकल चोरीमा संलग्न सङ्गठित गिरोहका सदस्य भएको प्रहरीले जनाएको छ । मोरङ प्रहरीले गिरोहमा संलग्न चोरहरूको खोजतलासमा विशेष अपरेसन सञ्चालन गरेको थियो ।
उनीहरू यसै क्रममा मङ्सिर २९ गते पक्राउ परेका हुन । उनीहरू समेतको गिरोहले मोटरसाइकल चोरी गर्दै गरेको सिसिटिभी फुटेज सहित पीडितहरूबाट जाहेरी लिई प्रहरीले अनुसन्धान कार्य पुरा गरेको छ।

पक्राउ परेका नजाम अन्सारीबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ३ मिलिग्राम समेत बरामद भएकोले उनलाई लागुऔषधको अपराधमा समेतको अनुसन्धान पुरा भएको मोरङ प्रहरीले जनाएको छ ।

उनीहरूले २०८० भदौ १० गते विराटनगर-२ बन्जरा चोकबाट को २६ प ७७७६ नम्बरको होण्डा साइन मोटरसाइकल, भदौ १५ गते विराटनगर-४ नोबेल अस्पतालबाट को ४३ प ४८०४ नम्बरको सुपर स्प्लेण्डर मोटरसाइकल, मङ्सिर ६ गते विराटनगर-७ सेन्ट्रल मल अन्डरग्राउन्ड पार्किङबाट को १० प ९५६६ नं. को स्प्लेण्डर मोटरसाइकल चोरी गरेका थिए ।

यसैगरी मङ्सिर ८ गते विराटनगर-९ गुद्री बजारबाट को २८ प ७८१५ नम्बरको यमाहा मोटरसाइकल, ९ गते विराटनगर-७ कोशी अस्पतालबाट को २५ प १८११ नं को होण्डा कम्पनीको सिवि हर्नेट मोटरसाइकल, २२ गते विराटनगर-४ नोबेल अस्पतालबाट को २९ प ५५४ नं। को हिरो स्प्लेण्डर मोटरसाइकल, २७ गते मोरङ विराटनगर-६ भाटभटेनी सुपर मार्केटबाट को २१ प ५८९४ नम्बरको साइन मोटरसाइकल चोरीमा उनीहरू संलग्न थिए ।

प्रहरीमा उनीहरू विरुद्ध दर्ता भएका ७ वटा चोरी र अवैध लागुऔषध ब्राउनसुगर मुद्दामा अनुसन्धान पुरागरी सरकारी वकिल कार्यालय मोरङमा २२ गते पेश गरिएको हो ।

पक्राउ परेका नजाम अन्सारी विगतमा विभिन्न अपराधमा संलग्न रहेको प्रहरीले जनाएको छ । यसअघि मोरङ प्रहरीबाट नजाम विरुद्ध चोरी मुद्दा दर्ता भएकोमा मोरङ जिल्ला अदालतबाट ५ हजार धरौटी माग भएको धरौटी राख्न नसक्दा थुनामा बसेका थिए ।

२०६७ पुस २० गते जिल्ला प्रहरी सुनसरीबाट सार्वजनिक अपराधमा मुद्दा दर्ता भएकोमा माघ २ गते जिल्ला प्रशासनले ९ हजार रुपैयाँ धरौटीमा छोडको थियो । २०७२ जेठ २७ मा पनि सार्वजनिक अपराधमा मुद्दामा ३ हजार धरौटीमा छुटेका थिए । बलात्कार मुद्दामा पनि २०७६ कात्तिकमा मोरङ प्रहरीले मुद्दा दर्ता गरेको थियो । २०७९ कात्तिक १५ मा पनि बैङ्किङ कसुरमा मुद्दा दर्ता भएको छ ।

नेपालबाट चोरी गरी भारतीय बजारमा बिक्री गरिएका मोटरसाइकलहरू सुनसरीको देवानगन्ज हुँदै सीमावर्ती भारतीय बजार कटियारतर्फ अवैध घरेलु मदिराको ओसारपसारमा प्रयोग हुने गरेको पाइएको छ । चोरीमा संलग्न गिरोहको पक्राउ गरिएपछि मोटरसाइकल चोरीका घटनामा कमी आएको प्रहरीले जनाएको छ ।