धरान : धरान उपमहानगरपालिकाले असुल गर्दै आएको पार्किङ शुल्कको विरोधमा भइरहेको हस्ताक्षर अभियानमा नगर प्रहरीले हस्तक्षेप गरेको घट्नाको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका कोशी प्रदेश संयोजक सरोज श्रेष्ठले विरोध गरेका छन् ।

उक्त घट्नाको विरोध गर्दै उनले सामाजिक सञ्जालमा नगरवासीले चौतर्फी विरोध एवं असहमति जनाइ रहेको अवस्थामा नगर सरकारले जबरजस्ती शान्ति पूर्वक असहमति जनाउनेको मुखबन्द गर्न बल प्रयोग गर्नु अनुचित भएको धारणा व्यक्त गर्दै विरोध गरेका हुन ।

संयोजक श्रेष्ठले उपमहानगरपालिकाले पार्किङ शुल्क असुल गर्ने निर्णयमा पुनरावलोकन गर्नु बुद्धिमानी हुन्छ भन्दै स्थानीय निकायले राजमार्गमा कर, राजस्व तथा पार्किङ शुल्क उठाउने कुरा कानुन विपरीत नै हो भनेका छन् ।

उनले फेसबुक स्ट्याटसमा नगरबासीले असहमति जनाइरहेको कुराको सुनवाइ नभए ‘अन्यथा आम नगरवासीहरुले पार्किङ शुल्क नतिर्ने भनी सामूहिक रूपमा अवज्ञा गर्न थाले के होला ?’ समेत भनेका छन् ।

पार्किङ शुल्क गैरकानुनी भएकोले असुली बन्द गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले दोभान चौकमा हस्ताक्षर अभियान चलाइरहेका बेला मेयर हर्क साम्पाङको निर्देशनमा आज बिहान नगर प्रहरीहरू आएर हस्तक्षेप गरेको थियो ।

यसअघि पुस २३ गते उपमहानगरपालिकाको न्यायिक समितिमा राजमार्गमा पार्किङ शुल्क असुल गर्न गैरकानुनी भएकोले बन्द गर्न माग गर्दै धरान-१६ का विजय घिमिरेले उजुरी दिएका छन् ।

न्यायिक समिति र राजश्व समितिका संयोजक उपमेयर अइन्द्रबिक्रम बेघाले उजुरीको सुनवाइ हुने वचन दिए पनि ४ दिन बितिसक्दा पनि कुनै सुनवाइ भएको छैन ।

यसअघि साउन १६ गते यातायात व्यवसायीहरूले नगरपालिकाहरूले मुख्य राजमार्ग तथा राजमार्गमा कुनै पनि कर, शुल्क उठाउन नपाउने, नमिल्ने कानुनी व्यवस्था भएकोले ठेक्का नलगाउन भनी ध्यानाकर्षण गराए पनि बेवास्ता गरेकोले सङ्घीय सरकार गृह मन्त्रीलाई नै गुहार गर्न प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापनपत्र बुझाइएको राष्ट्रिय महासङ्घका कोशी संयोजक श्रेष्ठले स्मरण गराएका छन् ।