धरान : धरान उपमहानगरपालिकाले सम्झौता प्रथा मार्फत सवारी पार्किङ शुल्क सङ्कलन गर्न ठेक्का दिएकोमा नेकपा एमाले धरान नगर समितिले आपत्ति जनाएको छ ।

उपमहानगरपालिकाले सामाजिक सञ्जालमा सूचना प्रकाशित गरी कात्तिक २४ गते देखी लागु यात्रु वाहक सार्वजनिक सवारी सफारी, ट्याम्पो समेतलाई पार्किङ शुल्क तिर्नु पर्ने जनाएको छ ।

एमालेले आज आइतबार एक वक्तव्य जारी गर्दै भनेको छ ‘यात्रु वाहक सार्वजनिक सवारी साधन मोटरसाइकल, स्कुटर, ट्याम्पो, जस्ता साधन बाट कर उठाउन गरेको सम्झौताप्रति हाम्रो गम्भीर आपत्ति र असहमति रहेको स्पष्ट गर्न चाहन्छौँ ।’

धरानका जनता चाडपर्वमा व्यस्त रहेको समयमा कर वृद्धिको निर्णय गरी कार्यान्वयन गर्नु आफैमा षडयन्त्रपूर्ण रहेको आशङ्का व्यक्त गर्दै वक्तव्यमा भनिएको छ ‘सर्वसाधारण र मजदुर वर्गको प्रत्यक्ष सम्बन्ध रहेको क्षेत्रमा नगर प्रमुख र उपप्रमुखको ‘मुड’ अनुसार कर वृद्धि गरिएको हाम्रो ठम्याई रहेको छ ।’

तसर्थ ठेकेदारलाई पोस्ने र जनतालाई करको भारी बोकाउने निर्णयहरू तुरुन्त स्थगित गरी जनमैत्री कर लागु गर्न विज्ञप्ति मार्फत माग गर्दै अन्यथा नेकपा एमाले जुनसुकै कदम उठाउन बाध्य हुने जानकारी गराइएको छ ।

सूचना अनुसार उपमहानगरपालिकाले धरान-१६ को लिङथेप एण्ड को-कन्स्ट्रक्सनलाई मोटरसाइकल र निजी साना/हल्का सवारी साधनको शुल्क उठाउने र मोरङको प्रिन्स निर्माण सेवालाई यात्रु वाहक सार्वजनिक यातायातका सवारी साधनहरूलाई पार्किङ शुल्क असुलीको ठेक्का दिएको हो ।

पटके पार्किङ शुल्क स्कुटर, मोटरसाइकललाई १० रुपैयाँ, ट्याम्पो, निजी साना, हलुका सवारीलाई २५ रुपैयाँ सफारीलाई ३० रुपैयाँ, कार, मारुती भ्यानलाई ३५ रुपैयाँ, बास, माइक्रो बस, बुलेरो, स्कारपियोलाई ५० रुपैयाँ तोकिएको छ ।

Nekapa-UML-bigyapti