धरान : बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक बसेर चिकित्सक शिक्षक र कर्मचारीको बढुवा प्रक्रिया सम्बन्धी प्रस्ताव सिनेट बैठकमा लैजाने निर्णय गरिने भएको छ ।
सोही बैठकले सिनेटको विशेष बैठक डाकेर सिनेटको निर्णय अनुसार एक साता भित्र बिपीमा विद्यमान समस्यालाई निकास दिइने टुङ्गो लागेको हो ।
यसअघि गएको साता कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीले कार्यकारिणी समितिको बैठक बोलाएर आफै बिदामा बसी अनुपस्थित भएपछि स्थिति बिग्रिएको थियो ।
काठमाडौँ गएका बिपीका कामु उपकुलपति बाहेक ३ पदाधिकारी शिक्षाध्यक्ष प्राडा.सञ्जीव शर्मा, रजिष्टार प्राडा. सूर्यप्रसाद सङ्ग्रौला र अस्पताल निर्देशक बैठकको तयारी गर्न आज धरान फर्किएका छन् । कामु उपकुलपति प्राडा.प्रह्लाद कार्की काठमाण्डौमै छन् ।
धरानबाट गएको प्रमुख ५ दलका प्रतिनिधि मण्डलले उक्त जानकारी दिएको हो । बिपीमा विद्यमान गतिरोधका बारेमा छलफल गर्न कार्यकारिणी समितिका चारै जना पदाधिकारी दुई दिन अघि काठमाडौँ गएका थिए ।
लगत्तै समस्या टुङ्ग्याएरै फर्किने भन्दै धरानका प्रमुख ५ राजनीतिक दलका नेतृत्व सहित काँग्रेसका नेताहरू पनि काठमाडौँ पुगेका थिए ।
प्रधानमन्त्री पुष्पकमल दाहालको निर्देशन अनुसार बिपीका सहकुलपति, स्वास्थ्य मन्त्री मोहनबहादुर बस्नेत, मुख्य सचिव वैकुण्ठ अर्यालसँग काठमाडौँ पुगेका बिपीका कामु उपकुलपति सहित चारै पदाधिकारीले छलफल गरेका थिए ।
यसै बिच धरानबाट गएको राजनीतिक दलका प्रतिनिधि मण्डलले स्वास्थ्य मन्त्री बस्नेत, मुख्य सचिव अर्याल र सत्ता साझेदार नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई भेट गरी बिपीको समस्यालाई तत्काल निकास दिनु पर्नेमा ध्यानाकर्षण गराएका थिए ।
यसै क्रममा काँग्रेस सभापति शेरबहादुर देउवाले स्वास्थ्य मन्त्री बस्नेतलाई सहज निकास नभए ‘सिनेट बैठक डाकेर भए पनि समस्या समाधान गर्न’ सुझाव दिएको काँग्रेस सुनसरी-१ का सभापति सुजेन्द्र तामाङले बताए ।
धरानबाट गएको ५ प्रतिनिधि मण्डलमा काँग्रेस नगर सभापति श्याम पोखरेल, नेकपा एमाले अध्यक्ष हर्कजंग एभेङ, नेकपा माओवादी अध्यक्ष मनोज भट्टराई, जसपाका नगर अध्यक्ष ताजुब लिम्बु, नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य जीवन राई अहिले पनि काठमाण्डौमै छन् ।
प्रमण्डलमा धरानबाट पूर्व मेयर तिलक राई, उपमहानगरपालिका कार्यपालिकामा कांग्रे संसदीय दलका नेता प्रविण राई, काँग्रेस सुनसरी-१ का सभापति सुजेन्द्र तामाङ पनि सहभागी छन् । काठमाण्डौमा काँग्रेस केन्द्रीय सदस्य, पूर्व मन्त्री मीन विश्वकर्मा, प्रदेश सांसद विजय राई समेत प्रमण्डलमा सहभागी थिए ।
 
         
                     
         
                                        
                                                                                                _1749430366.gif) 
         
                 
                 
                 
         
        
















 
         
        

















































 
         
         
        