विराटनगर : नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले बैङ्क र उद्योग एउटै घरानाले सञ्चालन गर्ने व्यवस्था हटाउनु जरुरी रहेको बताएका छन् ।

पिताजी कृष्ण प्रसाद स्मृति परिषद्ले मंगलबार विराटनगरमा आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले एउटै घरानाको बैङ्क, उद्योग र इन्स्योरेन्स कम्पनी हुँदा समस्या देखिएको बताएका हुन् ।

बैङ्कहरूले ५ प्रतिशत ब्याजदरमा दिने कृषि ऋण वास्तविक कृषकले नपाउने गरेको नेता कोइरालाको भनाइ थियो । उनले सरकारले ५ प्रतिशतमा कृषि ऋण दिने व्यवस्था गरेको छ । सामान्य नागरिक १५-२० लाख कृषि ऋण माग्दै गयो भने बैङ्कले बस्नुहोस् पनि नभन्ने बताए ।

कोइरालाले भने, ‘तर १ अर्ब कृषि ऋण माग्दै ठुला उद्योगी गए भने बैङ्कले सोफामा बसाउँछ, चिया कफी खुवाउँछ अनि ऋण पनि सहजै दिन्छ ।’ उनले प्रश्न गरे त्यो पैसा कृषिमा लगानी हुन्छ कि कहाँ हुन्छ ? अनि कसरी देश बन्छ ? बैङ्कर्स र उद्योगी एउटै घरानाका व्यक्ति भएसम्म समस्या रहिरन्छ ।

नेता कोइरालाले कुनै पनि प्रजातान्त्रिक मुलुकमा बैङ्कर्स र उद्योगी एउटै घरानाको नहुने गरेको उल्लेख गर्दै अहिले देशमा भ्रष्टाचार, दण्डहीनता र कुशासन बढ्दै गएको बताए । मुलुकको आर्थिक, सामाजिक, राजनैतिक, सांस्कृतिक र धार्मिक कुनै पनि क्षेत्र राम्रोसँग नचलेको उनको भनाइ थियो ।

कोइरालाले राज्य सञ्चालनमा बस्ने व्यक्तिहरूमा केन्द्रीकृत मानसिकताका कारण सङ्घीयता अप्ठ्यारोमा परेको बताउँदै भने, ‘नेपाली जनताको विद्रोहका कारण देशमा लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । तर सङ्घीयताको मर्म र भावना विपरीत केन्द्रीकृत शासन व्यवस्था चलाउँदा सङ्घीयतामाथि प्रहार भइरहेको छ ।’

विराटनगर महानगरपालिका मेयर नागेश कोइरालाले पिताजी कृष्ण प्रसाद कोइरालाले देशमा प्रजातन्त्र ल्याउन महत्त्वपूर्ण योगदान पुराएको बताए । कार्यक्रम परिषद्का अध्यक्ष प्रा. कविराज न्यौपानेको सभापतित्वमा भएको थियो ।

सोही अवसरमा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठलाई पिताजी कृष्ण प्रसाद स्मृति सम्मान प्रदान गरिएको थियो । नेता डा. कोइराला र आयोजक संस्थाका अध्यक्ष प्रा. कविराज न्यौपानेले पूर्व प्रधानन्यायाधीश श्रेष्ठलाई दोसल्ला ओढाएर सम्मान पत्र प्रदान गरेका थिए ।

Dr. Sekhar koirala 2