धरान : धरान उपमहानगरको आर्थिक गतिविधिमा नयाँ गति ल्याउन सुनसरी उद्योग वाणिज्य संघद्वारा आयोजित ‘धरान एक्स्पो-२’ बाट यहाँका गायक, कलाकार, संस्कृतिकर्मीमा पनि पुनर्जागरण ल्याउने  विश्वास गरिएको छ ।

दुई हप्ता सम्म सञ्चालन हुने एक्स्पोको हरेक साँझ गायक कलाकारका सांस्कृतिक कार्यक्रम हुनेछ । समापनका दिन प्रसिद्ध नेपाली लाक गायक गङ्गा बरदानको सहयोगका लागि ‘गङ्गा वरदान साँझ’ आयोजना गरिने छ ।

क्षेत्रीय तथा जातीय संस्कृति जगेर्ना गर्न विविध भाषा, संस्कृतिका कला, सांस्कृतिक कार्यक्रम, जातीय कलाकारहरूबाट जातीय पहिरन प्रदर्शन, लोकनृत्य प्रतियोगिता एक्स्पो अवधिमा हुनेछ । सांस्कृतिक प्रदर्शनबाट बहुजातिय, बहुभाषिक, बहुसांस्कृतिक संस्कृतिर्मीहरुलाई एक्स्पोले प्रोत्साहित गर्ने बताइएको छ ।

एक्स्पो बारे जानकारी दिन हिजो आयोजित पत्रकार सम्मेलनमा सङ्घका अध्यक्ष विजय श्रेष्ठले धरानको आर्थिक गतिविधि मात्र नभएर एक्सपोले कलाकार, संस्कृतिकर्मीहरूमा नयाँ पुनर्जागरण ल्याउने उद्देश्य पनि लिएको बताए ।

उनले भने ‘हामीले प्रसिद्ध लोक गायक गङ्गा वरदानलाई आर्थिक सहयोग पुर्‍याउन एक्स्पोको समापनमा फागुन २४ गते गङ्गा वरदान साँझ सांस्कृतिक कार्यक्रम राखेका छौँ ।’ साँझबाट सङ्कलित सबै रकम गायक वरदानलाई प्रदान गरिने उनले बताए ।

‘नेपाली बबमर्ली’ नाममा चर्चित गायक गङ्गा वरदान जीवनको उत्तरार्धमा कमजोर आर्थिक अवस्थासँग जुझिरहेका छन् । ७० वसन्त पार गरेका लोक गायक अहिले पनि धरान–१४ विजयपुरमा डेरा गरी बसेका छन् । उनको परिवारमा उनी र श्रीमती दुई जना छन् ।

जीवनभर ठेट नेपाली लोक सङ्गीतलाई आधुनिक गायनमा लोकप्रिय बनाउनमा बिताएका गङ्गा बरदानले पछिल्लो पुस्तका गायक, कलाकारहरूले जस्तो पैसा कमाएनन् । कमाउनमा उनको ध्यान गएन ।

बरदानले आफ्नो छुट्टै शैलीको गायन प्रस्तुत गर्दै देशका प्रायः सबै जिल्ला पुगे । उनको गायनको लोकप्रियताका कारण प्रस्तुति दिन विदेश भ्रमण पनि गरे । तर पैसाको बार्गेनिङ गरेनन् र कमाउने धुनमा उनी आफ्नो कलालाई बेच्ने धुनमा लागेनन् ।

एक्सपोमा ‘गङ्गा वरदान साँझ’को संयोजक राजीव हल्वाईले भने ‘अहिले ढल्किएको उमेरमा उहाँ आर्थिक समस्यामा हुनुहुन्छ ।’ उनलाई आर्थिक सहयोग जुटाउन एक्सपोको समापनको साँझ गङ्गा बरदानको लागि प्रदान गरिएको हो ।

गङ्गा वरदान साँझबाट सङ्कलित रकम बैङ्कमा उनकै नाममा खाता खोले जम्मा गरिदिने निर्णय भएको छ । बैङ्कमा जम्मा हुने रकमको कमसे कम मासिक १० हजार रुपैयाँ व्याज गायक बरदानले जीवनयापनको खर्च गर्न पाउन भन्ने लक्ष्य राखिएको उनले बताए ।

गायक वरदानका लागि आयोजना गरिने साँझबाट सङ्कलित रकमको हिसाब पारदर्शी बनाइने संयोजक हलवाईले बताए । उनको नाममा सङ्कलन भएको रकमको सबै हिसाब किताब सार्वजनिक गरिने उनले प्रतिबद्धता जनाएका छन् ।

एक्सपोमा सांस्कृतिक कार्यक्रमका सहयोगी सौरभ श्रेष्ठले गायक बरदानको गीतहरूलाई डिजिटलाइज गर्ने कार्य गर्दै आएका छन् । गङ्गा वरदान साँझमा अधिकतम आर्थिक सहयोग सङ्कलन गर्न उनी पनि लागि परेको छन् ।