इटहरी : नेपाली काँग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले कोशी प्रदेश सरकारले पदाधिकारीको सेवासुबिधा बढाउन गरेको तयारी गलत भएको बताएका छन् । अध्यादेश मार्फत सरकारलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिने विषयमा डाक्टर शेखरले असन्तुष्टि जनाएका हुन् ।

विराटनगरमा "समुदायमा काँग्रेस" अभियानको उद्घाटन गर्दै डा.शेखरले अध्यादेश मार्फत पदाधिकारीको सङ्ख्या थप्दै गाडी सुविधा दिने प्रदेश सरकारको निर्णय प्रति असन्तुष्टि जनाएका हुन् । गाडी तथा मासिक भत्ता दिने उद्देश्यले प्रदेश सभाका पदाधिकारी तथा सदस्यहरूको सेवा सम्बन्धी ऐन २०७५ संशोधन गरेकोमा विरोध जनाए ।

"देशमा आर्थिक सङ्कट छ । सङ्कटको बेला सुविधा घटाउनु पर्नेमा सुविधा बढाएकोमा ज्यादै पीडा भएको छ ।," उनले भने, 'अहिले स्थानहरू बन्द गर्नुपर्छ भन्दै छौँ । अर्को तिर सांसदहरूलाई सुविधा बढाउने कुरा नेपाली काँग्रेसका साथीहरूलाई पीडा बोध भएको मलाई लागि रहेको छ ।'

उनले मुलुक आर्थिक रूपमा सङ्कटमा रहेको बेला जनताका आधारभूत कुराहरूमा ध्यान दिनुपर्नेमा विलासिताका बस्तुमा प्रदेश सरकारले लगानी गर्न कुराले आफूलाई दुख लागेको बताए । सांसदलाई भौतिक सुविधा थप्ने कुरा अहिलेको परिस्थितिमा उपयुक्त नभएको र इकोनोमिक क्राइसिस सँगै अहिले इकोनोमिक क्राइम पनि बढिरहेको उनको भनाइ छ ।

उनले भने, "अरू देशले यी दुवै कुरा मापन गरिरहेका छन् । हेरिरहेका छन् । सरकारले यस्तो काम गर्नु हुँदैन ।"

कोशी प्रदेशको यसअघिकै ‘प्रदेश सभाका पदाधिकारी तथा सदस्यको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५’ को दफा २ को खण्ड (ख) संशोधन गर्न कार्की नेतृत्वको सरकारले अध्यादेश ल्याएको छ ।

संशोधन गरिएको उक्त प्रस्तावमा पदाधिकारी भन्नाले सभामुख, उपसभामुख, प्रदेश सभाको बहालवाला सदस्य रहेको पूर्व मुख्यमन्त्री, प्रमुख प्रतिपक्षी दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, प्रमुख प्रतिपक्षी दलको प्रमुख सचेतक, प्रतिपक्ष दलको नेता, सरकारमा सहभागी दलहरूका संसदीय दलका नेता, सत्तापक्ष दलको सचेतक र प्रदेश सभाका समितिका सभापति समेतलाई सम्झनुपर्ने उल्लेख छ ।