धरान : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्कीको नियुक्ति गैरकानूनी भएको दाबीसहित उच्च अदालत विराटनगरमा रिट दायर भएको छ ।

प्रा.डा.कार्कीको नियुक्ति गैरकानूनी भएकोले बदर गर्न माग गर्दै मंगलबार रिट दायर भएको हो । रिटको पेसी माघ १९ गतेका लागि तोकिएको अदालतले जनाएको छ ।

धरानका सुमन श्रेष्ठले नियुक्त खारेजीको माग गर्दै रिट दायर गरेका हुन् । प्रतिष्ठानबाट अवकाश पाइसकेपछि कार्कीलाई कामु उपकुलपति नियुक्त गरिएको भन्दै प्रतिष्ठानका कर्मचारी र डाक्टरहरूले पनि उनको नियुक्ति खारेज गर्नुपर्ने माग गर्दै आएका छन् ।

रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश ममता खनालको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा छलफलका लागि दुवै पक्षलाई माघ १९ गते बोलाएको रिट निवेदक श्रेष्ठले बताए । छलफलपछि डा.कार्कीको नियुक्ति खारेज हुने रिट निवेदकको दाबी छ ।

प्रतिष्ठानका कुलपति, सहकुलपति तथा कायम मुकायम उपकुलपति प्रा.डा. कार्कीसमेतलाई विपक्षी बनाई दायर गरिएको रिटमा ‘कायम मुकायम उपकुलपतिको मिति २०८० असार १७ को नियुक्ति र त्यसै नियुक्तिलाई निरन्तरता दिने मिति २०८० मङ्सिर ४ को नियुक्तिलाई उत्प्रेषणलगायत आज्ञा आदेश जारी गरी बदर गरीपाउँ’ भनी माग गरिएको छ ।

प्रतिष्ठानको ऐनले कामु उपकुलपतिको कल्पना नगरेको रिटमा दाबी गरिएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ऐन–२०४९ को दफा ११ (ख) ले उपकुलपतिको नियुक्तिको व्यवस्था भए पनि कामुको व्यवस्था नभएको रिटमा दाबी गरिएको छ । प्रतिष्ठानको ऐन र नियमावली अनुसार उपकुलपतिको नियुक्ति सम्बन्धी सम्पूर्ण अधिकार कुलपतिमा निहित रहेकोमा सहकुलपति रहेका स्वास्थयमन्त्रीले गरेको नियुक्ति अवैध रहेको दाबी रिटमा छ ।

यसअघि प्रतिष्ठानका तत्कालीन उपकुलपति प्रा.डा. राजकुमार रौनियार निलम्बनमा पर्दा सहकुलपति रहेका स्वास्थ्य मन्त्रीको सिफारिसमा कुलपति रहेका प्रधानमन्त्रीले शिक्षाध्यक्ष प्रा.डा. गुरुप्रसाद खनाललाई कार्यवाहक उपकुलपतिको जिम्मेवारी दिएका थिए । तर, प्राडा कार्कीलाई जिम्मेवारी दिँदा सहकुलपति तथा स्वास्थ्य मन्त्रीमोहन बहादुर बस्नेतले नियुक्ति दिएर गैरकानूनी कार्य गरेको रिटमा जिकिर गरिएको छ ।

कार्कीको नियुक्तिको पत्र प्रतिष्ठानको शिक्षकको रूपमा नभई प्रा.डा. प्रह्लाद कार्की, टक्सार-०२ भोजपुर’ भनी सम्बोधन गरिएको र कुनै ऐन तथा कानुन नटेकी नियुक्त गरिएको दाबी रिटमा छ । कायम मुकायम भन्नाले अर्को कर्मचारीको पदाधिकार भएको पदमा काम गर्ने कर्मचारीलाई जनाउने र सो पदभन्दा मुनिको पदमा बहाल व्यक्तिलाई जिम्मेवारी दिनुपर्ने माग रिटमा गरिएको छ ।

प्रतिष्ठानको नियमावलीको परिच्छेद १० को नियम १०.८ मा प्रतिष्ठानको कुनै प्रशासकीय पदमा कार्यरत व्यक्ति बिदा वा काजमा गएमा वा अन्य कुनै कारणबाट कुनै पद खाली हुन आएमा खाली भएको पदमा काम गर्ने व्यक्तिमध्ये रिक्त पदको काम सम्हाल्न सक्नेलाई ज्येष्ठताको आधारमा रिक्त पदको मात्र काम हेर्ने गरी आवश्यक ठानेमा कायम मुकायम मुकर्रर गर्न सक्ने व्यवस्था छ । तर, प्रा.डा. कार्कीलाई जिम्मेवारी दिँदा प्रतिष्ठानका कर्मचारीका रूपमा नभई ‘प्राडा प्रह्लाद कार्की, टक्सार, भोजपुर’ भनी दिइएको बाट पनि नियुक्ति अवैध भएको थप प्रष्ट भएको दाबी गरिएको छ ।

प्रा.डा. कार्कीले २०८० मङ्सिर ५ मा उमेरको हद अनुसार अनिवार्य अवकाश पाइसकेका छन् । यसअघि प्रतिष्ठानका उपकुलपति प्रा.डा. राजकुमार रौनियार घुस प्रकरणमा पक्राउ परेपछि स्वास्थ्य मन्त्रालयले ‘कायम मुकायम’ उपकुलपतिको जिम्मेवारी डा.श्यामसुन्दर यादवलाई दिएकोमा प्रतिष्ठानको कर्मचारी नभएको भन्दै विरोध भएपछि मन्त्रालयले नियुक्ति नै फिर्ता गरेको थियो ।

हाम्रो मत अनलाइनबाट