धरान : वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायम मुकायम उपकुलपति प्रा.डा. प्रह्लाद कार्की माथि हिजो मङ्गलवार कार्यकक्षमै भएको अभद्र व्यवहारको नेपाली काँग्रेसले घोर निन्दा भर्त्सना गर्दै घट्नामा संलग्नहरूलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्न माग गरेको छ ।

नेपाली काँग्रेस धरान उपमहानगर सभापति श्याम पोखरेल, प्रदेश १ (२) कार्यसमिति सभापति मुरारी भट्टराई, प्रदेश १ (१) सभापति अनिल श्रेष्ठ र प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति सभापति सुजेन्द्र तामाङले हिजै राती संयुक्त वक्तव्य जारी गर्दै घट्नाको निन्दा, भर्त्सना गरेका हुन ।

वक्तव्यमा ‘कामु उपकुलपति कार्की माथि भएको अमर्यादित कार्य तथा साङ्घातिक हमला कदापि क्षमा योग्य हुन नसक्ने’ भन्दै घट्नाले ‘आपसी सहमति र सद्भावबाट भइरहेको समस्या समाधान उन्मुख कार्यलाई यस्ता खालका उत्श्रृङखल गतिविधिले झन् जटिलतातर्फ धकेल्नेमा कसैको दुई मत नहुने’  कुरा उल्लेख गरिएको छ ।

वक्तव्यमा भनिएको छ ‘नेपाल सरकारबाट निर्देशन भई प्रतिष्ठानको कार्यकारिणी समितिको बैठक हुँदै गरेको र माघ २९ गते नै सञ्चालक परिषद्को बैठक समेत बोलाइएको अवस्थामा यस घटनाले कतै शिक्षक कर्मचारीहरूको जायज मागलाई पूरा हुन नदिई प्रतिष्ठानमा थप अराजकता सिर्जना गर्ने र संस्था नै बन्द गराउने भित्री बाहिरी कुतत्वहरूको खेल त हैन ? भन्ने शंकाउत्पन्न भएको छ ।’

सम्मानित उच्च अदालतबाट स्वास्थ्य जस्तो अति आवश्यक, संवेदनशील क्षेत्रमा कुनै पनि आन्दोलन, बन्द, हडताल, तालाबन्दी वा अवरोध नगर्नु/नगराउनु भन्ने आदेश विरुद्ध भद्र अवज्ञाको नाममा आन्दोलन हुनुमा कतै यस्तै तत्त्वद्वारा सञ्चालित भएको त हैन ? भन्ने शङ्का पनि उत्पन्न भएको हुँदा यस्ता तत्त्वहरूबाट हामी सबै सचेत हुनु अति आवश्यक भएकोमा ध्यानाकर्षण गराइएको छ ।

वक्तव्य मार्फत ‘कार्यकक्षमा भएको अमर्यादित कार्य तथा साङ्घातिक हमला मान्य नहुने भन्दै घट्नामा संलग्न जो कोही दोषीलाई कानुन बमोजिम कडा भन्दा कडा कारबाही माग’ गरिएको छ ।

प्रतिष्ठानमा हाल भइरहेको कर्मचारी, शिक्षक चिकित्सकहरूको जायज मागप्रति नेपाली काँग्रेस सधैँ साथमा रहेको प्रतिबद्धता जनाउँदै समस्या समाधानका निमित्त नेपाली काँग्रेस कै अगुवाइमा काठमाण्डौं सम्म गई नेपाल सरकार र सम्बन्धित निकाय तथा पक्षहरूको ध्यानाकर्षण गराउँदै आवश्यक छलफल, समन्वय, सहजीकरण र पहल गरेको कुरा वक्तव्यमा स्मरण गराइएको छ ।

उक्त लज्जाजनक घटनाको घोर भर्त्सना र निन्दा गर्दै घटनाको सूक्ष्म र निष्पक्ष अनुसन्धान गरी जोकोही दोषीलाई कडा कारबाहीको माग सहित प्रतिष्ठानका सम्पूर्ण शिक्षक, कर्मचारी र विद्यार्थी एवम् व्यवस्थापन तथा प्रशासनलाई उच्च मनोबलका साथ प्रतिष्ठानको सेवा कार्यमा लाग्न अनुरोध गरिएको छ ।

BP-issue-congress