• अनुसा थापा

विसं २०५० सालपछि नेकपा एमालेका धेरै नेता प्रधानमन्त्री भए । मनमोहन अधिकारी, माधवकुमार नेपाल, झलनाथ खनाल, केपी शर्मा ओली प्रधानमन्त्री बने । अन्य एकचोटि प्रधानमन्त्री बन्दा ओली दुईपटक प्रधानमन्त्री भए । प्रधानमन्त्री नखाएपनि एमाले पटकपटक सरकारमा गइसकेको छ ।

जनवादी नेता मदन भण्डारीकी श्रीमती विभिन्न मन्त्री बनिन् । उनले दुईपटक राष्ट्र प्रमुखको भूमिका पनि निर्वाह गरिन् । दुर्घटनामा परेर मदन भण्डारीको २०५० जेठ ३ गते मृत्यु भयो । नेपालले एउटा जनवादी नेता गुमाएको पनि ३० कटेर ३१ वर्ष लाग्यो । भण्डारीले दुर्घटनामा ज्यान गुमाए तर ड्राइभर अमर लामा भने जोगिए ।

त्यतिबेलै आम सर्वसाधारणलाई आशङ्का भइसकेको थियो, यो दुर्घटना नभई हत्या हो । यो विषयमा अहिले पनि सर्वसाधारणले प्रश्न उठाइरहेका छन् । मदनलाई कसले मार्न लगाए ? यो कुरा थाहा भएका अमर मात्र थिए । अमर त्यो घटनामा न घाइते भए न उनलाई कुनै क्षति पुग्यो ।

गाडीबाट हाम फालेका उनले कसैको निर्देशमा सो काम गरेको त त्यतिबेलै प्रस्ट भइसकेको थियो । अमर पछि जेल गए । जेलबाट निस्किएपछि उनले मदनलाई मार्नमा क-कसको हात छ ? भण्डाफोर गर्छु भनेर धम्की दिए । त्यति बोल्ने बित्तिकै दिउँसै उनको अपहरण भयो । काठमाडौँको कालिका स्थानमा हिँड्दै गरेका उनलाई अपहरण गरेर दिउँसै गोली हिर्काएर मारियो ।

अमरलाई कसले मारेको हो ? अहिलेसम्म सार्वजनिक भएको छैन । यो कुरा भित्रभित्रै दबाइएको छ । त्यति बेला मुलुकमा जनयुद्ध चलिरहेको थियो । यदि माओवादीले मारेको रहेछ भने स्वीकार्नुपर्यो । अन्य पार्टीले मारेको भए पत्ता लगाउनुपर्‍यो । नेपाल प्रहरी यो विषयमा किन मौन छ ?

अमर मर्ने बित्तिकै मदनको मृत्यु प्रकरण गुमसुम भयो । मदन एमालेका नेता थिए । तर, उनको मृत्यु प्रकरणमा एमाले किन बोल्दैन ? सर्वसाधारणले ‘दालमा केही कालो भएको’ शङ्का गरेका छन् । एमाले बारम्बार सरकारमा गयो । मदनकै श्रीमती दुईपटक देशको राष्ट्रपति बनिन् ।

तर, कसैले यसको अनुसन्धान अघि बढाउन चाहेन, किन ? सर्वसाधारणले त शङ्काको सुइँ एमालेतर्फ लगेका छन् । मदन र अमर नेपाली नागरिक थिए । उनीहरूको बाँच्ने अधिकार खोसियो । यद्यपि, सरकारले अहिलेसम्म ‘अपराधी’ समात्न सकेको छैन । मदनलाई जनताले मनबाटै आफ्नो नेता ठान्थेँ ।

जनताको अभिभावक मदन र अमरलाई मार्ने व्यक्ति को हो ? यसको छानबिन हुनुपर्छ । अहिले मुलुकको प्रधानमन्त्रीमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । प्रचण्डले नेतृत्व गरेको जनयुद्धकै क्रममा अमरको हत्या भएको हो । कि त प्रचण्डले अमर माओवादीले मारेको हो भनी स्वीकार गर्नुपर्‍यो, नत्र ‘अपराधी’ पत्ता लगाउनुपर्‍यो ।

प्रधानमन्त्री प्रचण्डले अब मदनको ‘अपराधी’ खोज्ने प्रक्रिया अघि बढाउनुपर्छ । राजनीतिक दलहरूलाई ‘अपराधी’ को हो ? भन्ने कुरा थाहा छ । तर, उनीहरू एक अर्काको जोगाउमा छन् । अमरको हत्यारा समातिने बित्तिकै मदनलाई मार्न लगाउनेको नाम खुलिहाल्छ । प्रहरीले मान्छे मारेर फरार भएको व्यक्तिलाई दशकौँपछि पनि समात्छ ।

अहिले पनि २०-२५ वर्षपछि ज्यान मार्ने व्यक्तिहरू पक्राउ गरेको खबरहरू बाहिर आइरहेको हुन्छ । प्रहरीले उनीहरूले कहाँबाट समातेर ल्याउँछ । तर, मदन र अमरको घटनामा त अहिलेसम्म दोषी नै पत्ता लाग्न सकेका छैनन् । यसमा ठुलै चलखेल भएको कुरा घामजस्तै छर्लङ्ग छ ।

राजनीतिक आडमा ‘अपराधी’ लाई लुकाइएको स्पष्ट छ । हरेक वर्ष मदनलाई सम्झिने गरिन्छ । उनी जति नेपालीमाझ भिजेका थिए, त्यति नै अन्तर्राष्ट्रिय स्तरमा पनि लोकप्रिय थिए । विदेशीले त उनको विषयमा चासो राख्छन् भने नेपालीले न नराख्ने कुरै भएन । नेताहरूले मदन भण्डारीको बारेमा लामो भाषण गर्छन् । 

तर, उनको ‘हत्यारा’ खोज्ने चासो देखाउँदैनन् । सरकार नालायक साबित भएको अर्को काण्ड हो, ‘दरबार हत्याकाण्ड’ । उक्त हत्याकाण्डमा राजा वीरेन्द्रको पूरा परिवार नै सखाप भयो । घटना घटेको २३ वर्ष बितिसकेको छ तर सरकारले दोषी पत्ता लगाउन सकेन । देशको ‘राजा’ सहित उनको पूरा परिवारको हत्या हुनु सामान्य कुरा होइन र हुन पनि सक्दैन ।

यस्तो गम्भीर विषयमा समेत सरकार मौन छ । त्यति बेला दरबार र राजाको सुरक्षाको जिम्मा नेपाली सेनाले लिएको थियो । तर, सेना त चुक्यो । आफ्नै राजा त बचाउन सेनाले सुरक्षा गर्न सकेन भने सेनाले देशको के सुरक्षा गर्छ ? वीरेन्द्रको सन्तान सकिएपछि ज्ञानेन्द्र राजा भए ।

यद्यपि, उनले पनि आफ्नो दाइको हत्यारा खोज्नमा चासो देखाएनन् । २०५८ जेठ १९ गतेभन्दा पछाडि धेरै नेता प्रधानमन्त्री भए । तर, राजा मारेको विषयलाई तिनले हलुकामा लिए । राजा वीरेन्द्रको हत्यारा नेताहरूले सार्वजनिक गर्न सकेनन् कि चाहेनन्, यो त तिनलाई थाहा होला ।

जनता आज पनि मदन भण्डारी र राजा वीरेन्द्रको हत्यारा खोजिरहेका छन् । नेपालमा विभिन्न तहका सुरक्षा निकाय छन् । जनताले तिरेको करबाट तलब भत्ता खाने र सेवा सुविधा लिने कार्य मात्र सुरक्षाकर्मीले गरिरहेका छन् । नेपाली सेना, केन्द्रीय अनुसन्धान ब्युरो, नेपाल प्रहरीले अहिलेसम्म दोषी पत्ता लगाउन नसक्नु लज्जास्पद छ ।

जनता अहिलेसम्म शङ्कामै छन् । सत्य तथ्य के हो ? सरकार सार्वजनिक गर्दैन । सर्वसाधारणको शङ्का एमाले र भूपू राजा ज्ञानेन्द्रतिर छ । अब सरकारले ‘अपराधी’ को हो ? जनतासामु ल्याउनुपर्छ । बुढापाकाले भन्छन्, ‘भुक्ने कुकुरले टोक्दैन, नभुक्नेले टोक्छ ।’ नबोल्नेले काम गर्छन् भन्ने त काठमाडौँ महानगरका मेयर बालचन्द्र शाहबाट पुष्टि भइसकेको छ ।

वर्तमान प्रधानमन्त्री प्रचण्डले केही दिनअघि दरबार हत्याकाण्डको छानबिन गर्ने घोषणा गरेका छन् । तर, यो उनको घोषणामै सीमित हुने निश्चित छ । प्रचण्ड बोल्छन्, काम गर्ने त्यस्तै हो । दरबार हत्याकाण्डको दोषी पत्ता लगाउनलाई आँट चाहिन्छ । यो आँट अहिलेका नेताहरूमा देखिँदैन ।

देशमा नागरिक समाज छ, विद्यार्थी सङ्गठन छ, मानव अधिकारकर्मीहरू छन् । सरकारले गरेको कुनै निर्णय चित्त बुझेन भने यिनीहरू सडकमा ओइरिहाल्छन् । आन्दोलनका क्रममा प्रहरीले हस्तक्षेप वा लाठीचार्ज मात्र गर्‍यो भने यिनीहरू नेपाल बन्दको घोषणा गर्छन् । सडकमा टायर बाल्छन् ।

तोडफोड गदै हिँड्छन् । एमालेको आफ्नै भातृ सङ्गठन छ । तर, सो सङ्गठन पनि यस विषयमा मौन छ । मदनको हत्यारा सार्वजनिक गर्न एमालेकै भातृ सङ्गठन त तातेको छैन । विद्यार्थी सङ्गठन होस् या नागरिक समाज, यिनीहरूको उद्देश्य चर्चामा आउने र माथि जाने मात्रै हो ।

यिनीहरू पार्टीको इसारामा चल्छन् । न यिनीहरूसँग आफ्नो कुनै सिद्धान्त छ न यिनीहरूले पार्टीभित्र भए-गरेका नराम्रा कुराको भण्डाफोर नै गर्न सक्छन् । एक अर्कामाथि हिलो छ्यापेर नेता बन्ने खेलमा लागेकाले केही गर्नेवाला छैनन् र गर्न पनि सक्दैनन् । एउटा सामान्य लेनदेनमा ज्यान लिएको घटनाहरू पनि थुप्रै छन् ।

घरभित्र अंशबन्डाको कुरा नमिल्दा दाजुले भाइ र भाइले दाजुलाई मारेको घटना पनि छन् । अब यो त राजनीतिक खेल भयो । बुढापाकाले भन्छन्, ‘एउटा नबिग्रीकन अर्को सप्रिदिन ।’ मदन र राजा वीरेन्द्रको हत्या प्रकरणमा पनि त्यही नै भएको देखिन्छ । विडम्बनाको कुरा के छ भने जनताले स्पष्ट देखेका छन् तर सरकारमा बस्नेहरूले देख्दैनन् ।

प्रधानमन्त्री प्रचण्ड अबचाहिँ तात्नै पर्छ । मर्ने मरेको मर्यै भयो, मार्ने व्यक्ति निष्फ्रिकी घुमिरहेको छ । तत्कालै कमिटी गठन गरेर कि छानबिन अगाडि बढाउनुपर्‍यो कि त खोक्रो भाषण नठोक्दा नै बेस होला !