काठमाडौँ : अर्थमन्त्री डा.प्रकाशशरण महतले भारतसँगको व्यापार सम्झौताबाट फाइदा लिन छाडेर साफ्टाको विषय उठाउन आवश्यक नरहेको बताएका छन् ।

निर्यातको क्षेत्रमा नेपालको भविष्य निकै राम्रो रहेको बताउँदै उनले निर्यातमुखी अर्थतन्त्रका लागि सरकारले व्यापार सम्झौतालाई अधिकतम उपाय गर्न वातावरण गर्ने सक्दो प्रयास जारी राखेको उल्लेख गरे ।

निर्यात व्यवसायी महासङ्घ नेपालको चौथो वार्षिकोत्सव समारोहमा डा.महतले भने, ‘निर्यात व्यापारलाई देशको अर्थतन्त्रको मेरुदण्डका रूपमा विकास गर्न आवश्यक छ ।’ नेपाली उत्पादनहरू उच्च प्रविधियुक्त भन्दा पनि मौलिक हुनुपर्नेमा उनले जोड दिए ।

अर्थमन्त्रीले महासङ्घको भूमिकाको प्रशंसा गरे । निर्यात व्यवसायी साथीहरूको कडा परिश्रमले विश्व बजारमा नेपाली उत्पादनको बजार माग उकास्न र हाम्रो निर्यात क्षमता विस्तार गर्न महत्त्वपूर्ण योगदान रहँदै आएको उनले बताए ।

उक्त अवसरमा उत्कृष्ट निर्यातकर्ताहरू सम्मानित गरिएको छ । सम्मानित हुनेहरूमा नेपाल पस्मिना इन्ड्रष्टिज एसोसिएसनका कर्केन कुमार गुरुङ, नेपाल ऊल फेल्ट प्रड्युसर्सका महेश्वर श्रेष्ठ, गार्मेन्ट एसोसिएसनका शक्ति कुमार गोल्यान छन् ।

यसै गरी ल्यान लार्ज कार्डामोम इन्टरप्रेनर्सका इन्द्र कुमार अग्रवाल, ह्याण्डमेड पेपर एसोसिएसनका पद्मरत्न धाख्वा, हर्बस प्रोडक्ट्स एसोसिएसनका प्रसून सत्याल, कार्पेट प्रड्युसरका छेवाङ्ग डाम्डुल लामा, जिन्जर प्रोडुसर्सका श्याम लिम्बु सम्मानित भएका छन् ।

यस्तै अर्ग्यानिक एसोसिएसनका तारा बास्कोटा, फेयर टेड ग्रुपका मिलन भटराई, हिमालयन अर्थोडक्स टिका नीरज राठी, फुटवेयर एसोसिएसनका अमिर प्रतापजंग राना, कथ्था उत्पादक सङ्घका कैलाश चन्द्र गोयल, ह्याण्डिक्राप्ट ग्लासका गोपी प्रसाद कँडेल सम्मानित भएका छन् ।

यस्तै नेपाल ब्रुअ एसोसिएसनका संजिव शाह, प्लाई म्यानुफयाक्चरका बिष्णु मदोगदिया, डेरी एसोसिएसनका नीराजन कोइराला, रुद्राक्ष व्यवसायी सालिकराम थापा र नेपाल कफी प्रोड्युसर्स एसोसिएसनका बोधराज अर्याल सम्मानित भएका छन् । समारोह फिनका अध्यक्ष सङ्कर प्रसाद पाण्डेको सभापतित्वमा भएको थियो ।