धरान : विश्व सिमसार दिवसको अवसरमा आज शुक्रवार वराहक्षेत्र वडा ४ र ५ मा रहेको पर्यटकीय अमाह सिमसार-सर्दु खोला झोलुङ्गे पुल उद्घाटन गरिएको छ ।

कोशी प्रदेश सरकार पर्यटन तथा बन मन्त्री गणेश उप्रेतीले उद्घाटन गरेको पुल ८६ मिटर लामो छ । पुलको निर्माण प्रदेश सरकारको भौतिक योजना मन्त्रालयबाट ९७ लाख रुपैयाँको लगानीमा भएको हो ।

वराहक्षेत्र वडा ४ र ५ लाई जोडने झोलुङ पुलको निर्माणले अमाह सिमसारको संरक्षण र यसलाई पर्यटकीय क्षेत्र बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ ।

झोलुङ्गे पुलले आन्तरिक, बाह्य पर्यटकलाई आकर्षित गरी वार्षिक लाखौँ पर्यटकको हुने आगमनले दुवै वडाका स्थानियबासीको आर्थिक जीवनमा सुधार तथा सिमसारमाको आम्दानीको स्रोत बढाउने मन्त्री उप्रेतीले बताए ।

उनका अनुसार प्रदेश सरकारको पर्यटन तथा बन मन्त्रालयले सिमसारको संरक्षणका लागि चालु आर्थिक वर्षमा कोशी टप्पु, माईपोखरी, गोक्यो ताल समावेश गरी नेपालका १० वटा क्षेत्रलाई ९ लाख, ६० हजार ,५६१ हेक्टर रामसार सूचीमा समावेश गरेको छ ।

विश्व सिमसार दिवस २ फेब्रुअरीको अवसरमा अमाह सामुदायिक वन उपभोक्ता समूहले कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा वराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की, प्रदेश सांसदद्वय ममता तामाङ योञ्जन, विजय राई, सपना परियार निवर्तमान सांसद उमिता बराइली लगायत उपस्थित थिए ।

कार्यक्रमको सभापतित्व अमाह सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष भोजराज घलेले गरेका थिए ।

amaha-simsar