धरान : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बिपी प्रतिष्ठानमा विद्यामान समस्या समाधानका लागि पहल गरिदिन पार्टीको धरान नगर कमिटीको टोलीले मङ्गलवार दमक पुगेर ध्यानाकर्षण गराएका छन् ।

नगर अध्यक्ष हर्कजंग एभेङको नेतृत्वमा गएको टोलीमा केन्द्रीय सदस्य मञ्जु भण्डारी, प्रदेश सांसद द्वय रमेश बस्नेत, विजयकुमार राई, रेवतीरमण भण्डारी, मिना श्रेष्ठ, लक्ष्मी गौतम, पूर्व सांसद जयकुमार राई, मुरारी सुवेदी, सुनसरी-१ संयोजक मीन सुब्बा लगायत थिए ।

टोलीले पार्टी अध्यक्ष ओलीलाई ध्यानाकर्षण पत्र बुझाउँदै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका हुन् ।

अध्यक्ष ओलीले तत्काल प्रधानमन्त्री पुष्पकमल दाहाललाई टेलिफोन गरेर प्रतिष्ठानको समस्याबारे जानकारी लिएको नगर अध्यक्ष एभेङले बताए ।

टेलिफोनमा प्रधानमन्त्री दाहालले अध्यक्ष ओलीसँग दुई तीन दिन भित्र समस्याका समाधान खोज्ने प्रतिबद्धता जनाएको बताइएको छ ।

ध्यानाकर्षण पत्रमा सत्तारुढ दलहरूको स्वार्थका कारण प्रतिष्ठान राम्रोसँग सञ्चालन हुन नसकेको, चिकित्सक, कर्मचारी तथा विद्यार्थीहरूले वृत्ति विकास, बढुवाको माग सहितको आन्दोलनले अस्पताल सेवा, शैक्षिक कार्यक्रम अवरोध गर्न नहुने उल्लेख छ ।

सार्थ बिपीका पदाधिकारीहरू भ्रष्ट्राचारमा मुछिने, निर्माण तथा खरिद कार्यहरूमा अनियमितता हुने, कर्मचारी नियुक्ति तथा आन्तरिक काम बाडफाडमा राजनीतिकरण हुने भएको कारण आज प्रतिष्ठान कमजोर अवस्थामा पुगेको ध्यानाकर्षण पत्रमा उल्लेख छ ।