धरान : बिपी प्रतिष्ठानमा अवरुद्ध स्वास्थ्य सेवा सहितका गतिविधि सुचारु भएकै भोली पल्ट आज मङ्गलवार नेकपा एमाले धरान नगर कमिटीले प्रेस वक्तव्य जारी गर्दै ‘शिक्षक कर्मचारीको आन्तरिक वृत्ति विकास, बढुवा रोकिएको कारण अस्पताल सेवा, सेवा प्रवाह, शैक्षिक कार्यक्रम, अनुसन्धान जस्ता महत्त्वपूर्ण कार्यहरू प्रभावकारी हुन नसकेको’मा चिन्ता जनाएको छ ।

प्रतिष्ठानको नेतृत्व गरिरहेका कामु उपकुलपति सहित पदाधिकारीहरूको असक्षमता र गलत मनसायका कारण अस्तव्यस्तता बढिरहेको महसुस गरिएको वक्तव्यमा उल्लेख छ ।

‘यो दुरावस्था सत्तारुढ दलको आन्तरिक किचलो र केही राजनैतिक दलका व्यक्तिहरूको निहित स्वार्थका कारण भएको’ उल्लेख गर्दै वक्तव्यमा ‘सहकुलपति समेत रहेको नेपाली काँग्रेसका नेता स्वास्थ्य मन्त्री, नेपाली काँग्रेस निकटकै कामु उपकुलपति, नेपाली काँग्रेसकै कार्यकर्ता समेत रहेका रजिष्ट्रारको कार्यशैली र सत्तारुढ पार्टीका जिम्मेवार नेताहरूको गैर जिम्मेवार गतिविधिले प्रतिष्ठान अन्यत्र सार्ने खेल त हैन भन्ने आशङ्का पैदा हुन थालेको’ उल्लेख गरिएको छ ।

नेकपा एमाले जिम्मेवार पार्टी भएकोले प्रतिष्ठान बचाउको अभियानमा लागेको जानकारी गराउँदै वक्तव्यमा ‘बिपी प्रतिष्ठानको समस्या समाधान गर्न नसक्ने भए सहकुलपति समेत रहेका स्वास्थ्य मन्त्री र कुलपति समेत रहेका प्रधानमन्त्रीले राजीनामा दिएर मार्ग प्रशस्त गर्नु पर्ने’ माग समेत गरिएको छ ।

वक्तव्यमा पुनः सुचारु भएको बिपीको सेवाहरूप्रति सजग गराउँदै वक्तव्यमा ‘प्रतिष्ठानका शिक्षक, चिकित्सक तथा कर्मचारी विद्यार्थीलाई प्रतिष्ठानको उपचार सेवा तथा शैक्षिक कार्यक्रमहरूलाई सहजताका साथ सञ्चालन गर्न र स्वास्थ्य उपचार पाउने नागरिकको मौलिक हकको सम्मान गर्न अनुरोध गर्दछौँ’ भनिएको छ ।

emaley appeal