धरान : चौथो विक्रम राई स्मृति भेट्रान फुटबल कप प्रतियोगिताको आज शुक्रवार भएको उद्घाटन खेलमा धनकुटाको रारा भेट्रान फुटबल क्लब राजारानीले ट्राइब्रेकरमा मोरङ ग्रामथानको सिद्धार्थ भेट्रान्स क्लबलाई ३-२ गोलले पराजित गरेको छ ।
प्रतियोगिता धरान भेट्रान क्लबको आयोजनामा भएको हो । धरान-१६ रगंशालामा भएको खेलमा निर्धारित ६० मिनेटको समयमा दुवै टिमबाट कुनै गोल नभएपछि खेल ट्राईबेकरमा गएको थियो।
ट्राईबेकरमा रारा भेट्रानका दर्शन भक्त राजलवट, सूर्यकुमार लिम्बु, निरु लिम्बुले गोल गरे । शेर बहादुर लिम्बु र विजय राईको प्रहार आउट भयो ।
सिद्धार्थ भेट्रान क्लब ग्रामथानका नीराजन बस्नेत र पीताम्बर ध्वज भाटीले गोल गरे भने रुद्र बहादुर खडका, तेजमान लिम्बु र अनन्त राम चौधरीको प्रहार आउट भयो ।
खेलको म्यान अफ दि म्याच रारा भेट्रानका गोल किपर शिवजी बस्नेत घोषित भए । उनलाई २१ सय नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र  प्रदान गरियो ।
प्रतियोगिताको विजेता टिमले १ लाख ५ हजार रुपैयाँ नगद पुरस्कार र उपबिजेता टिमले ६० हजार नगद सहित ट्रफी मेडल प्राप्त गर्नेछ।
प्रतियोगिता उद्घाटन धरान उपमहानगरपालिकाका उपमेयर अईन्द्र विक्रम बेघाले गरेका थिए । उनले खेल क्षेत्रको समग्र विकास गर्न स्थानीय सरकार मात्र लागेर नहुने, सङ्घ संस्था र खेलाडीको स्वम भूमिका जोडेर हिडेमात्र उद्देश्य पूर्ण हुने बताए । भेट्रान क्लबको संस्थापक महासचिव विक्रम राईको धरानको फुटबल विकासमा योगदान महत्त्वपूर्ण रहेको उनले बताए । उनले भने ‘नयाँ खेलाडीहरू उत्पादन गर्न, युवा पुस्तालाई फुटबल मोह जगाउन भेट्रान प्रतियोगिताले ऊर्जा प्रदान गर्नेछ ।’
कोशी प्रदेश फुटबल सङ्घ अध्यक्ष तथा एन्फा मानार्थ उपाध्यक्ष किशोर राईले विश्व फुटबल इतिहासमा भेट्रान प्रतियोगिता कोशेढुङगाको रूप भएको बताए । उनले भने ‘विक्रम धरानका चर्चित फुटबल खेलाडी थिए, उनको निधनले धरानको फुटबललाई ठुलो क्षति पुगेको छ ।’
dharan-vetran-day-1-2
प्रतियोगिताको चौथो संस्करणमा कोशी प्रदेशका १२ वटा भेट्रान क्लबहरू सहभागी छन् । सहभागी क्लबहरूमा आयोजक धरान भेट्रान्स, मिल्स भेट्रान फुटबल क्लब विराटनगर, सिद्धार्थ भेट्रान्स, कन्काई भेट्रन्स झापा, उदयपुरको कटारी टाइगर त्यसैगरी हाम्रो धरान भेट्रान फुटबल क्लब, हाम्रो इटहरी भेट्रान, एभरेस्ट भेट्रान बेलबारी, झापाको दमक भेट्रान, काँकडभिट्टा भेट्रान फुटबल क्लब र विराट मेघा फुटबल क्लब रहेको बताइएको छ ।
भोली शनिवार एभरेष्ट भेट्रान बेलबारी र इटहरी भेट्रान क्लब इटहरी बिच खेल हुनेछ ।