इटहरी : कोशी प्रदेश सरकारले पाचौं तथा बर्खे अधिवेशन आह्वानको लागि प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

वैशाख ३१ गते सोमबार ११ बजे आव्हान गर्न प्रदेश प्रमुख परशुराम खापुङ समक्ष सिफारिस गरेको हो ।

नवगठित हिक्मतकुमार कार्की नेतृत्वको तीन सदस्यीय मन्त्रीपरिषद्को बैठकले मन्त्री राम बहादुर राना मगरलाई प्रवक्ताको जिम्मेवारी प्रदान गरेको छ ।

त्यससँगै सङ्घीयता कार्यान्वयन तथा कानुन निर्माण सम्बन्धी एकीकृत अध्ययन कार्यदल निर्माण गरेको छ । वरिष्ठ अधिवक्ता तथा पूर्व मुख्यन्यायधिवक्ता चूडामणि आचार्यको संयोजकत्वमा सात सदस्यीय समिति गठन भएको हो ।

आन्तरिक मामिला मन्त्रालयको सचिव सदस्य सचिव रहने गरी समिति गठन भएको हो ।

अन्य सदस्यहरूमा वरिष्ठ अधिवक्ता गजेन्द्र आचार्य, पूर्व प्रदेश सभा सदस्यहरू अर्जुन राई, कुल प्रसाद साम्बा, जसमाया गजमेर र पूर्व उपसचिव नरेन्द्र श्रेष्ठ रहेका छन् ।