धरान : धरान-१४ स्थित नरसिंह मन्दिरको जग्गा व्यक्तिको नाममा दर्ता गर्न भएको चलखेल खुलासा भएपछि जिल्ला प्रशासन कार्यालयले गठन भएको छानबिन समितिले पाएको समय सीमा पुरा भएपनि प्रतिवेदन सार्वजनिक गरेको छैन ।

छानबिन समितिले पाएको समयसीमा सकिएपछि प्रतिवेदन सार्वजनिक नहुँदा मन्दिर पक्षले छानबिन समिति नै प्रभावित बनेको त होइन भनेर आशङ्का गरेको छ । छानबिन समिति संयोजक अनोज घिमिरेले भने १५ दिनको म्याद थपिएको जानकारी दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय सुनसरी प्रमुख जिल्ला अधिकारी जयराज आचार्यले भने, ‘अख्तियार र गृह मन्त्रालयमा पुगिसकेको विषयमा छानबिन समितिले सत्यतथ्य नल्याई सुखै छैन, कुनै विकल्पै छैन । तलमाथि गर्ने ठाउँ छैन । नरसिंह मन्दिरकै जग्गा हुन्छ ।’

मन्दिरलाई धरानका आचार्य परिवारले दान दिएको धरान-६ स्थित पानबारीमा ७ कट्ठा १० धुर जग्गा छ । उक्त जग्गाको हालको मूल्य ७ करोड माथि छ । 

उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्न चलखेल भएको समाचार प्रकाशित भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले जेठ ३ गते छानबिन समिति गठन गरेको थियो ।

इलाका प्रशासन कार्यालय धरानका प्रमुख अनोज घिमिरेको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिमा धरान उपमहानगरपालिका र नापी कार्यालय धरानका प्रमुख सदस्य छन् ।

मन्दिर संरक्षण समितिले छानबिन समितिको सात दिनको समय सीमा थियो तर १५ दिनसम्म पनि समितिले छानबिनको कामलाई पूर्णता दिएको छैन । छानबिन समितिले प्रतिवेदन तयार पारेर सार्वजनिक नगरेकोले समितिनै प्रभावित बनेको छैन ? भनी प्रश्न गरेको छ ।

संरक्षक समितिका अध्यक्ष टोमप्रसाद आचार्यले भने, ‘१५ दिनसम्म प्रतिवेदन सार्वजनिक नहुँदा छानबिन प्रभावित बनेको हो कि ?’

इलाका प्रशासन कार्यालय, धरान प्रमुख तथा छानबिन समिति संयोजक घिमिरेले हालसम्म प्रमाण सङ्कलन गर्ने काम भएको बताए । उनले भने, ‘आफू बिदामा भएको समयमा समिति गठन भएछ । म आए पश्चात् नापी कार्यालय प्रमुख बिदामा बस्नु भयो । त्यसैले ढिलो भयो ।’

उनका अनुसार प्रमाण सङ्कलनको काम सकिएको छ । घिमिरेले भने, ‘आगामी १५ दिन भित्र प्रतिवेदन बुझाउँछौँ ।’ उनका अनुसार १५ दिनको म्याद थप गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार प्रक्रिया अघि बढेको बताए । जग्गा व्यक्तिको नाममा ल्याउने प्रक्रिया रोकिएको छ । अख्तियारमा तथा गृह मन्त्रालयमा पुगिसकेको छ । छानबिन समितिले सत्यतथ्य नल्याई सुखै छैन ।

मन्दिरको जग्गा व्यक्तिको नाममा ल्याउन धरान-६ का वडाध्यक्ष भूपेन्द्र भट्टराई तथा पूर्व प्रधानपञ्च पदम कार्की सहितले झुटो सर्जिमिन गरेका थिए । अहिले जोतभोग गर्ने भक्त बहादुर मगर भएपनि लालबहादुर मगर बनाएर सर्जिमिन गरेका थिए ।

धरान-६ वडा कार्यालयले २०८० चैत १५ मा छुट जग्गा दर्ता गर्न लालबहादुर थापा मगरलाई सिफारिस गरेको थियो । यस्तै २०८० चैत १६ गते दुई नाम, थर प्रमाणित गरेको सिफारिस गरेको थियो । २०८० चैत १५ गते ६ नं। वडा कार्यालयको रोहवरमा सर्जमिन मुचुल्का समेत गराएको थियो ।

७ करोडभन्दा माथिको जग्गा व्यक्तिको नाममा ल्याउन लेखापढी सेन्टरदेखि जग्गा दलाल मिलेमतो रहेको छ । मन्दिरको जग्गाको निस्सामा देखिएका लालबहादुर थापा मगरले सञ्चारकर्मीसँग कुरा गर्दा जग्गा मन्दिरकै भएको बताएका थिए ।

लालबहादुरले आफूलाई खोज्दै दलाल आएको र आफ्नै नाममा आएपनि मन्दिरलाई दिनुपर्ने बताएका थिए । लालबहादुरले बोलेको समाचार प्रकाशित समाचारका विषयमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानपञ्च कार्कीले झुटो सर्जिमिन गरेको पनि स्वीकारेका थिए । उनी जग्गाको सर्जमिन मुचुल्कामा साक्षी बसेका छन् ।

गत माघमा नेपाल सरकारले छुट जग्गा दर्ता गर्न चाहनेका लागि दुई वर्षभित्र आवेदन दिन सूचना प्रकाशित गरेपछि धरान-६ का लालबहादुर थापा मगरले उक्त जग्गा आफ्नो भएको भन्दै मालपोत कार्यालय धरान सुनसरीमा निवेदन दिएका हुन् ।

मगरले दिएको निवेदनका आधारमा साबिक बाझगरा वडा नं। ३ क कित्ता नं। १२५ मा रहेको ७ कट्ठा १० धुर जग्गामा लालबहादुर थापा मगरले दाबी गरेको भन्दै ३५ दिने सार्वजनिक सूचना मालपोत कार्यालयले प्रकाशित गरेको थियो ।