धरान : लिम्बु भाषामा निर्माण हुने चलचित्रहरू सेन्सर बोर्डमा जाँदा भाषा, संस्कृतिका विषयमा सहजीकरण गर्न लिम्बु चलचित्रकर्मीहरूको सङ्घ याक्थुङ मुन्चइत् चोक सयङले चलचित्र विकास बोर्डसँग समन्वय गर्ने निर्णय गरेको छ ।

याक्थुङ लिम्बु भाषा एवं संस्कृतिका कुराको गलत प्रयोगलाई सुधार, सेन्सर बोर्डलाई सम्बन्धित विज्ञको सहयोग र सहजीकरणका लागि बोर्डमा सयङलाइ सहभागी गराउन विकास बोर्डसँग समन्वय गर्ने निर्णय भएको अध्यक्ष सागर केरुङले बताए ।

सयङको चौथो राष्ट्रिय महाधिवेशन मङ्गलवार काठमाण्डौमा सम्पन्न भएको जानकारी दिदैं नवनिर्वाचित अध्यक्ष केरुङले १३ सूत्रीय समसामयिक प्रस्ताव पारित भएको बताए ।

नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यमा भएको महाधिवेशनले लिम्बु चलचित्रलाई विश्व बजारसम्म पुर्‍याउन राष्ट्रिय, अन्तर्राष्ट्रिय प्रशिक्षकहरूद्वारा ‘चलचित्र निर्माण’ सम्बन्धी तालिम सञ्चालन गरी दक्ष जनशक्ति निर्माण गर्ने निर्णय गरेको छ ।

लिम्बु चलचित्रका लागि ‘याक्थुङ स्टोरी बैङ्क’ व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय कथा प्रतियोगितालाई निरन्तरता दिने र बैङ्कमा भएका कथाहरूमा चलचित्र निर्माण गर्ने प्रस्ताव पारित गरिएको छ ।

कक्षा ८ देखि १२ सम्मका याक्थुङ विद्यार्थीका लागि लिम्बु चलचित्र शिक्षा’ प्रशिक्षण अभियान चलाउने, चलचित्रकर्मीहरूको संरक्षण, संवर्धन र विकासको लागि कोष स्थापना गर्ने, राष्ट्रिय, अन्तर्राष्ट्रिय चलचित्र महोत्सवहरू आयोजना गर्ने प्रस्ताव महाधिवेशनले पारित गरेको छ ।

सयङ राष्ट्रिय महाधिवेशनद्वारा निर्वाचित नयाँ कार्यसमिति अध्यक्षमा केरुङ, उपाध्यक्षद्वय बबिता फोम्बो, पूर्ण सेलिङ, महासचिव रुपा आङ्ङबुहाङ, सचिव दिनेश माङमु, सचिव लोकेन साँवा, कोषाध्यक्ष हाङ चेम्जोङ चयन भएका छन् ।

कार्य समिति सदस्यहरूमा दिनेश लिङ्देन, रुद्र पाहिम, मोनी ताम्लिङ, लक्ष्मी योङ्हाङ, नरेश वनेम, सन्देश सुब्बा, मनु थक्लुङ, शैलेन्द्र थेबे, तुलसा लिम्बु, पर्शु थलङ, बिपना आङ्बुहाङ, अमर तुम्बापो,  कृष्ण थलङ, याम नेयोङ, निवर्तमान अध्यक्ष सूर्यप्रकाश चेम्जोङ छन् ।

सल्लाहकारहरूमा नवीन सुब्बा, किशोर सुब्बा, प्रेम सुब्बा, मौसम इम्बुङ, सागर सुब्बा, यासेली योङ्हाङ,  सृजना सुब्बा रहेका छन् ।