धरान : बास्केटबल सङ्घको आयोजना तथा धरान उपमहानगरपालिको संयोजनमा आयोजित ९औँ बास्केटबल ट्यालेन्ट हन्ट तथा प्रशिक्षण क्याम्प सोमवार समापन भएको छ ।

नयाँ प्रतिभा अघि बढाउन धरान बास्केटबल सङ्घले वर्सेनी आयोजना गर्दै आएको बास्केटबल ट्यालेन्ट हन्ट प्रशिक्षण ९ औ शिविर सोमवार सकिएको हो ।

प्रशिक्षण शिविरमा एल केजी देखि एसइइ दिएर बसेका ६५ जना विद्यार्थीहरू सहभागी थिए । शिविरका उत्कृष्ट विद्यार्थीलाई धरानका संस्थागत विद्यालयहरूमा पढ्नका लागि सङ्घले छात्रवृत्ति पनि दिलाउँदै आएको छ।

त्यसरी छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या अहिले सम्म १५० नाघेको समापनका अवसर सङ्घका अध्यक्ष नारायण सुवेदीले जानकारी दिए ।

समापनका प्रमुख अतिथि कोशी प्रदेश खेलकुद विकास समितिका सदस्य सचिव कृष्ण बस्नेत परशुरामले प्रदेशमा बास्केटबल खेल विकासको लागि वोर्डवाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले तत्काल धरान रङ्गशाला इन्डोर बास्केटबल कोर्टको स्तरोन्नतिका लागि काम अगाडि बढाउने वचन पनि दिएका छन् ।

शिविर जेठ १० देखि असार १० गते सम्म एक महिना चलेको थियो । सङ्घले १३ वर्ष अघि देखी शिविर आयोजना गर्दै आएको बताइएको छ । सहभागीहरूलाई मुख्य प्रशिक्षक विकाश चाम्लिङ राई, बास्केटबलका राष्ट्रिय महिला खेलाडी डा. आशा राई, चिरञ्जीवी गिरि, आस्था कुलुङ, निवा चेम्जोङ लगायतले प्रशिक्षण दिएका थिए ।