धरान : बास्केटबल सङ्घको आयोजना तथा सुनसरी बास्केटबल सङ्घको प्राविधिक सहयोगमा यही असार ५ गते देखि सुरु भएको सातौँ ट्यालेन्ट हन्ट बास्केटबल ट्रेनिङ क्याम्प २४ औ दिनमा मंगलबार समापन भएको छ ।

ट्रेनिङ क्याम्पका प्रशिक्षक तथा सहभागी विद्यार्थीहरूलाई प्रमाणपत्र प्रदान गरी ट्यालेन्ट हन्ट कार्यक्रम सम्पन्न भएको छ । उनीहरूलाई कार्यक्रमका सभाध्यक्ष सुनसरी बास्केटबल सङ्घका अध्यक्ष नारायण सुबेदी र धरान उपमहानगरपालिका कार्यपालिका सदस्य अनुप देवानले प्रमाणपत्र वितरण गरेका थिए ।

बास्केटबल खेल विकास तथा प्रतिभावान् खेलाडीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले विगत एक दशक भन्दा बढी देखि बास्केटबल सङ्घले बास्केटबल ट्यालेन्ट हन्टको आयोजना गर्दै आइरहेको छ । एसइई दिएर बसेका विद्यार्थी खेलाडीहरूलाई लक्षित ट्रेनिङ क्याम्पमा एसइई दिएर बसेका विद्यार्थी सँगै दश कक्षा मुनिका विद्यार्थी, प्लस टुका विद्यार्थी र व्याचलर लेबलका गरी ५० जना भन्दा बढी विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

एसइई दिएका विद्यार्थी मध्ये वाट प्रतिभावान् खेलाडीहरूलाई धरानको विभिन्न कलेजमा कक्षा ११ मा छात्रवृत्तिका लागि बास्केटबल सङ्घले सिफारिस गर्ने गरेको छ । यो पटक करिब डेढ दर्जन विद्यार्थी खेलाडीहरूलाई धरानको धरान मेघा कलेज, एम्स एकेडेमी, डिपो स्कुल, सियोन स्कुल र सगरमाथा एसडि कलेजमा छात्रवृत्तिmको लागि सिफारिस गरिने समापन कार्यक्रमका सभाध्यक्ष नारायण सुवेदीले बताए ।

सङ्घको सिफारिसमा विगत लामो समय देखि विद्यार्थी खेलाडीहरूलाई प्रोत्साहन गर्दै धरानका विभिन्न कलेजमा सय भन्दा बढी विद्यार्थीहरूलाई छात्रवृत्तिमा सिफारिस गरी अध्ययन गराइरहेको आयोजक धरान बास्केटबल सङ्घले समापन कार्यक्रममा जानकारी  गराएको छ ।

धरान १२ स्थित धरान मेघा कलेजको बास्केटबल कोर्टमा सम्पन्न भएको  क्याम्पमा सहभागीहरूलाई प्रदेश १ का मुख्य प्रशिक्षक विकास चाम्लिङ राई, उनको सहयोगीको रूपमा हेमन्त राई, डा. आशा राई, रोशन राई, युगल लिम्बु, र दिवस राईले प्रशिक्षण दिएका थिए ।

समापन कार्यक्रममा सुनसरी फुटबल सङ्घका अध्यक्ष नवीन राई, धरान मेघा कलेजका अध्यक्ष कैलाश लिम्बु, एम्स एकेडेमीका प्राचार्य मित्र तामाङ, सगरमाथा एसडि कलेजका प्राचार्य सन्तोष राई लगायतको उपस्थिति रहेको थियो ।

उनीहरूले आयोजकलाई सफलतापूर्वक तालिम सम्पन्नका लागि बधाई तथा सहभागी विद्यार्थी खेलाडीहरूलाई एसइई परीक्षामा राम्रो नतिजाका लागि शुभकामना व्यक्त गरेका छन् । साथै आफ्नो विद्यालयको तर्फ वाट ट्यालेन्ट हन्टका विद्यार्थीहरूलाई प्रोत्साहनको लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।   

Basketball-Hunt-1