धरान : सञ्चारकर्मी सञ्जिता धमलालाई उपचारका लागि वीपी प्रतिष्ठान पुगेको बेला अस्पतालमै कुटपिट गर्ने समूहका थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । यो सँगै धमला प्रकरणमा पक्राउ पर्नेको सङ्ख्या ९ पुगेको छ ।

घट्नामा संलग्न भएको आरोपमा हिजो सोमवार साँझ धरान-५ घर भएकी सङ्गीता राईलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । उनलाई पक्राउ गरी अनुसन्धानका लागि  तत्कालै इनरुवा लगिएको थियो ।

सोही घट्नामा प्रहरीले खोजी गरिरहेका धरान-११ का समीर तामाङलाई आज मङ्गलवार प्रहरीले पक्राउ गरेको सुनसरी जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी नविनकृष्ण भण्डारीले बताएका छन् ।

तामाङ धरान उपमहानगरपालिकाका नगर प्रमुख हर्क साम्पाङका निकट मानिन्छन् । उनलाई साँझ ४ बजे भानुचोक देखि पक्राउ गरिएको हो । पक्राउ गरे लगत्तै तामाङलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा लगिएको छ ।

प्रवक्ता डिएसपी भण्डारीका अनुसार आपराधिक उपद्रव मुद्दामा समीर तामाङ र सङ्गीता राईलाई पक्राउ गरिएको हो । यसअघि धमला कुटपिट प्रकरणमा प्रहरीले ७ जनालाई पक्राउ गरेको थियो ।

अभद्र व्यवहार मुद्दामा पक्राउ पर्नेहरू धरान-१५ की ४२ वर्षीय चन्द्रकला थेबे, धरान-१९ की ३४ वर्षीय मुना राई, धरान-१७ की ५६ वर्षीय प्रमीला राई, धरान-११ की ४५ वर्षीय शर्मिला राई,  धरान-१ की ५२ वर्षीय शर्किनी थापा मगर, धरान-१७ की ४० वर्षीय पूर्ण बान्तवा राई र ३५ वर्षीय सिर्जना बेघा भएको प्रवक्ता भण्डारीले बताए ।