धरान : तेस्रो अन्तर स्कुल मेजर श्रवण कुमार मेमोरियल डिपो कप बास्केटबल रनिङ्ग कप प्रतियोगितामा धरान र धरान बाहिरका समेत १७ विद्यालयले सहभागी हुने सोमवार अन्तिम टाइसिट सार्वजनिक गरिएको छ।

प्रतियोगिता पर्सी बिहीबार भदौ २७ गते डिपो स्कुलको बास्केटबल कोर्टमा हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल धरान मेघा हिमालयन र लोटस स्कुल बिच हुने आयोजक डिपो स्कुलले जनाएको छ ।

प्रतियोगितामा सहभागी स्कुलहरूमा आयोजक डिपो स्कुल सँगै धरान मेघा हिमालयन स्कुल, कार्मेल स्कुल, सुनाखरी स्कुल, युनाइटेड गोर्खा एकेडेमी, सियोन स्कुल, होलिल्याण्ड स्कुल, समिट स्कुल, विष्णु स्कुल छन् ।

यस्तै आइडल स्कुल, दिल्ली पब्लिक स्कुल, सत्यशिसु निकेतन, लोटस स्कुल, प्रभात स्कुल, हिमशिखर स्कुल तरहरा, प्याराडाइज स्कुल तरहरा, पूर्वाञ्चल स्कुल तरहरा सहभागी छन् ।

सहभागी विद्यालय, बास्केटबल सङ्घका प्रतिनिधि, निर्णायकहरूको उपस्थितिमा भएको बैठकले खेल तालिका तयार गरेको हो । भदौ २७ देखि हुने प्रतियोगिताको फाइनल खेल ३१ गते हुनेछ । कक्षा १० सम्मका खेलाडीहरूले प्रतियोगिताको मैदानमा उत्रन पाउने छन् ।

प्रतियोगिताको विजेता टिमले नगद १५ हजार रुपैयाँ, उपविजेताले नगद ७ हजार ५ सय रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताका मोस्ट भ्यालुएवल प्लेयरले ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

डिपो स्कुलका पूर्व अध्यक्ष स्वर्गीय गोर्खा मेजर श्रवणकुमार लिम्बूको सम्मानमा प्रतियोगिता २ वर्ष अघि देखी सुरु गरिएको हो । प्रतियोगिता धरान बास्केटबल सङ्घको प्राविधिक सहयोग सञ्चालन हुनेछ ।