इटहरी : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले असोज २ गते विश्वासको मत लिने भएका छन् ।

यसअघि नेकपा माओवादीको समर्थनमा मुख्यमन्त्री बनेका कार्कीले पछिल्लो पटक एमाले-काँग्रेस गठबन्धन बनेपछि विश्वासको मत लिन लागेका हुन । सङ्घीय सरकारमा राजनीतिक गठबन्धन बदलिएपछि कोशी प्रदेशमा माओवादीले भदौ १४ गते समर्थन फिर्ता लिएको थियो ।

प्रदेशमा राजनीतिक गठबन्धन बदलिएपछि मुख्यमन्त्री कार्कीले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन ।

माओवादी प्रदेश सरकारबाट साउन ११ गते बाहिरिएको  थियो । माओवादी बाहिरिए पनि नयाँ गठबन्धनको दल नेपाली काँग्रेस सरकारमा सहभागी हुन ढिलो भएपछि बदलिएको परिस्थितिमा विश्वासको मत हासिल गर्ने प्रक्रिया ढिलो भएको थियो ।

नेकपा एमालेको नेतृत्वको सरकारमा आइतबार मात्र काँग्रेस सहभागी भएको छ । काँग्रेस सरकारमा सहभागी भएपछि संविधानको धारा १६८ (५) अनुसार मुख्यमन्त्रीमा नियुक्त भएका कार्कीले विश्वासको मत लिने भएका हुन ।

प्रदेश सभाका ९३ सदस्य मध्ये मुख्यमन्त्री कार्कीको दल नेकपा एमालेका ४० सांसद छन् । काँग्रेसका २९ सांसद छन् । माओवादी केन्द्रका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाका १ सांसद छन् ।

यसअघि गत वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।